सुदूरपश्चिममा गहुँ खेती गर्ने क्षेत्रफल घट्यो, उत्पादन बढ्यो

सुदूरपश्चिममा गहुँ खेती गर्ने क्षेत्रफल घट्यो, उत्पादन बढ्यो

धनगढी । सुदूरपश्चिममा गहुँ खेती गर्ने क्षेत्रफल घटेको छ भने गहुँ उत्पादनमा भने वृद्धि भएको छ । प्रदेशमा आर्थिक वर्ष २०७९÷०८० को तुलनामा चालु आर्थिक वर्ष २०८१÷०८२ मा गहुँ खेतीको क्षेत्रफल घटेको भए पनि उत्पादनमा भने वृद्धि भएको हो । 

कृषि विकास निर्देशनालय राजपुरका सूचना अधिकारी केशवराज पाण्डेका अनुसार चालु आर्थिक वर्ष २०८१÷०८२ मा एक लाख ४० हजार पाँच सय ५२ हेक्टर क्षेत्रफल जग्गामा गहुँ खेती गरिएकोमा तीन लाख ४३ हजार ७३ मेट्रिक टन गहुँ उत्पादन भएको छ । भने गत आर्थिक वर्ष २०८०÷०८१ मा एक लाख ३९ हजार सात सय ३२ हेक्टर क्षेत्रफल जग्गामा गहुँ खेती गरिएकोमा तीन लाख २८ हजार ६९ मेट्रिक टन गहुँ उत्पादन भएको छ । 

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा आठ सय २० हेक्टर क्षेत्रफल कम जग्गामा गहुँ खेती गरिएकोमा १५ हजार तीन मेट्रिक टन बढी गहुँ उत्पादन भएको थियो । 

आर्थिक वर्ष २०७९÷०८० मा एक लाख ४४ हजार पाँच सय ८२ हेक्टर क्षेत्रफल जग्गामा गहुँ खेती गरिएकोमा तीन लाख ३१ हजार तीन सय तीन मेट्रिक टन गहुँ उत्पादन भएको कृषि विकास निर्देशनालय राजपुरले जनाएको छ । यो तथ्याङ्क चालु आर्थिक वर्ष र गत आर्थिक वर्षको तुलनामा क्षेत्रफलमा वृद्धि भए पनि उत्पादनमा भने कम हो । 

सूचना अधिकारी केशवराज पाण्डेका अनुसार उन्नत प्रविधि सँगै रोग किराको आंकम्रण नहुँदा र किसान आफै सचेत भएर विषादीको प्रयोग गर्नाले पनि उत्पादनमा वृद्धि भएको बताए । 

उनले कृषकहरूमा गहुँ बाली सम्बन्धी ज्ञान बढ्नुका साथै  विभिन्न किसिमका औजार उपकरणको प्रयोगले गर्दा रासायनिक मल मात्रै नभई प्राङगारिक मलको प्रयोगले गर्दा पनि उत्पादन बढेको बताए ।

किसानहरूले कुन जातको बिउ प्रयोग गरिरहेका छन् त्यसले गर्दा पनि उत्पादन बढेको उनको भनाइ छ ।