धनगढी पोष्ट
शनिबार, ०७ असार २०८२ मा प्रकाशित
धनगढी । धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि दुई अर्ब ५६ करोड चार लाख बराबरको बजेट ल्याएको छ ।
उपमहानगरपालिकाको शनिबार बसेको नगर सभाको तेहौँ अधिवेशनमा नगर उप–प्रमुख कन्दकला रानाले अगामी आर्थिक वर्षका लागि दुई अर्ब ५६ करोड चार लाख बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।
धनगढी उपमहानगरले चालु आर्थिक वर्ष २०८१÷०८२ को बजेट भन्दा ३७ करोड ६२ लाख ३३ हजार सात सय ८० रुपैयाँ अर्थात् १७ दशमलव २२ प्रतिशतले बजेट वृद्धि गरेको छ ।
धनगढी उपमहानगरपालिकाले चालुतर्फ एक अर्ब ३८ करोड २६ लाख ५१ हजार छ सय ४० रुपैयाँको बजेट ल्याएको छ, भने पूँजीगततर्फ एक अर्ब १८ करोड २९ लाख ३५ हजार दुई सय ९२ रुपैयाँको बजेट पारित गरेको छ । उपमहानगरपालिकाको कुल बजेटको ५३ दशमलव आठ प्रतिशत चालुतर्फ र ४६ दशमलव दुई प्रतिशत पुँजीगततर्फ बजेट रहेको छ ।
उपमहानगरपालिकाको आन्तरिक आय ५४ करोड ७९ लाख ६७ हजार एक सय ११ रुपैयाँ रहेको छ । राज्यश्व बाँडफाँडबाट ५७ करोड ६० लाख ६२ हजार एक सय ४३, संघीय सरकारबाट वित्तिय हस्तान्तरण ९९ करोड नौ लाख, प्रदेश सरकारबाट वित्तीय हस्तान्तरण ११ करोड २२ लाख ४१ हजार रुपैयाँ प्राप्त हुने उल्लेख गरिएको छ । साथै मौज्दात रकम ३३ करोड ३२ लाख ९५ हजार ७४६ रुपैयाँ छ ।
चालु आर्थिक वर्ष २०८१÷०८२ मा उपमहानगरपालिकाले दुई अर्ब १८ करोड ४२ लाख ३२ हजार २२० रुपैयाँको बजेट कार्यान्वयन गरेको छ । जसअन्तर्गत जेठ मसान्तसम्म एक अर्ब ८१ करोड पाँच लाख ८४ हजार सात सय २२ रुपैयाँ खर्च भइसकेको उपमहानगरले जनाएको छ ।
उपमहानगरपालिकाले ल्याएको बजेट शनिबारकै नगरसभाबाट सर्वसम्मत रूपले पारित गरिएको छ ।
शनिबारकै नगरसभामा नगर प्रमुख गोपाल हमालले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । स्वास्थ समस्याका कारण हमालले प्रस्तुत गर्न नसक्ने भएपछि उपप्रमुख रानाले सघाएकी थिइन् ।