धनगढी पोष्ट मङ्गलबार, ०६ साउन २०८२   July 22, 2025

कैलाली भन्सारद्वारा ७७ दशमलव ६७ प्रतिशत राजश्व संकलन

कैलाली भन्सारद्वारा ७७ दशमलव ६७ प्रतिशत राजश्व संकलन

धनगढी । कैलाली भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८१÷०८२ मा लक्ष्यको ७७ दशमलव ६७ प्रतिशत राजश्व संकलन गरेको छ । गत आर्थिक वर्षको साउन महिनादेखि असार मसान्तसम्म सो अवधिमा लक्ष्यको प्रतिशत भन्सार कार्यालयले राजश्व संकलन गरेको हो । 

कैलाली भन्सार कार्यालय धनगढीका भन्सार अधिकृत प्रकाश तिमिल्सेनाका अनुसार गत आर्थिक वर्ष २०८१÷०८२ मा लक्ष्यको आठ अर्ब ६६ करोड ९८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षमा कार्यालयको वार्षिक लक्ष्य ११ अर्ब १६ करोड २६ लाख ३० हजार रुपैयाँ रहेको उनले बताए । 

उनका अनुसार भन्सार महसुलतर्फको लक्ष्य चार अर्ब ६७ करोड ९३ लाख ८० हजार रुपैयाँ रहेकोमा तीन अर्ब २३ करोड ९९ लाख रुपैयाँ राजश्व संकलन भएको छ, भने  मूल्य अभिवृद्धितर्फको लक्ष्य तीन अर्ब ९१ करोड ६० लाख ५८ हजार रुपैयाँ रहेकोमा तीन अर्ब २३ करोड १५ लाख ८० हजार रुपैयाँ राजश्व संकलन भएको छ । 

अन्तःशुल्कतर्फको लक्ष्य २९ करोड ४४ लाख १२ हजार रुपैयाँ रहेकोमा २१ करोड ४४ लाख १२ हजार रुपैयाँ राजश्व संकलन भएकोमा अन्यतर्फको लक्ष्य दुई अर्ब २७ करोड ४१ लाख ९१ हजार रुपैयाँ रहेकोमा एक अर्ब ९८ करोड ३९ लाख रुपैयाँ राजश्व संकलन भएको उनले बताए । 

भन्सार अधिकृत तिमिल्सेनाका अनुसार पेट्रोलियम पदार्थको आयात घटेकाले गर्दा पनि लक्ष्य अनुसार राजश्व संकलन हुन सकेन । उनले इलेक्टोनिक सवारी साधनको बढ्दो मागले गर्दा पनि राजश्व संकलनमा असर परेको बताए । 

बजारमा सम्रग माग घटेकाले गर्दा पनि उपभोक्तामा क्रय शक्ति बढ्न नसक्दा पनि माग घटेको उनले बताए । आर्थिक मन्दीको प्रभावले गर्दा पनि यसको प्रत्यक्ष अप्रत्यक्ष असर राजश्व संकलनमा पर्ने गएको उनको भनाइ छ । खुल्ला सिमानाका सँगै चोरी पैठारीलाई नियन्त्रण गर्न नसक्दा पनि राजश्व संकलन गर्न नसकएिको उनले बताए । 

आगामी आर्थिक वर्षमा लक्ष्य अनुसार राजश्व संकलनका लागि सिमानाकाहरुमा चोरी पैठारीलाई नियन्त्रण गर्नका लागि गस्ती परिचालन सँगै माल–सामान चेकजाँचलाई प्रभावकरी बनाएर लैजाने राणनीति लिएको उनले बताए । देशभर राजश्वको लक्ष्य घटेकाले गर्दा आगामी आर्थिक वर्षका लागि आफूहरुलाई समेत राजश्व संकलनको लक्ष्य घटेर आएको उनले बताए । 

कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०÷०८१ मा पनि लक्ष्यअनुसारको राजश्व संकलन गर्न सकेको थिएन । अघिल्लो आर्थिक वर्षमा ११ अर्ब ५८ करोड २४ लाख ७० हजार रुपैयाँ वार्षिक राजश्व संकलनको लक्ष्य रहेकामा सात अर्ब ९१ करोड ८० लाख ६८ हजार रुपैयाँ मात्रै राजश्व संकलन भएको थियो ।

अर्थात ६८ दशमलव ३६ प्रतिशत राजश्व संकलन भएको थियो । 
भन्सार कार्यालयको चालु आर्थिक वर्ष २०८२÷०८३ का लागि नौ अर्ब ७१ करोड १५ लाख छ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य रहेको छ ।