धनगढी पोष्ट
बिहिबार, १५ साउन २०८२ मा प्रकाशित
धनगढी । सुदूरपश्चिममा गहुँ खेती गर्ने क्षेत्रफल घटेको छ, भने गहुँ उत्पादनमा वृद्धि भएको छ । प्रदेशमा आर्थिक वर्ष २०८०÷०८१ को तुलनामा गत आर्थिक वर्ष २०८१÷०८२ मा गहुँ खेतीको क्षेत्रफल घटेको भए पनि उत्पादनमा भने वृद्धि भएको हो ।
कृषि विकास निर्देशनालय राजपुरका सूचना अधिकारी केशवराज पाण्डेका अनुसार गत आर्थिक वर्ष २०८१÷०८२ मा एक लाख सात हजार तीन सय हेक्टर क्षेत्रफल जग्गामा गहुँ खेती गरिएकोमा दुई लाख ३० हजार चार सय ८३ मेट्रिक टन गहुँ उत्पादन भएको छ, भने आर्थिक वर्ष २०८०÷०८१ मा एक लाख सात हजार तीन सय ९७ हेक्टर क्षेत्रफल जग्गामा गहुँ खेती गरिएकोमा दुई लाख २० हजार एक सय १४ मेट्रिक टन गहुँ उत्पादन भएको छ ।
आर्थिक वर्ष २०८०÷०८१ को तुलनामा गत आर्थिक वर्ष २०८१÷०८२ मा ९७ हेक्टर क्षेत्रफल कम जग्गामा गहुँ खेती गरिएकोमा १० हजार तीन ६८ मेट्रिक टन बढी गहुँ उत्पादन भएको थियो ।
सूचना अधिकारी पाण्डेका अनुसार किसानहरुले उन्नत प्रविधि अवलम्बन गर्दै गए सँगै समयमै सिचाई र अहिले किसानलाई प्रयाप्त मात्रामा मलखाद नपाएपनि केही मात्रामा मलखाद पाइरहेकाले गर्दा पनि उत्पादनमा वृद्धि भएको बताए ।
विगतका वर्षहरुको तुलनामा गत वर्ष क्षेत्रफल कम भएपनि उत्पादनमा वृद्धि भएको उनले बताए । रोग किराको आंकम्रण नहुँदा र किसान आँफै सचेत भएर विषादीको प्रयोग गर्नाले पनि उत्पादन बढेको उनले बताए ।
पहिला किसानहरुले आफनै घरको बिउ लगाउने गरेको भएपनि अहिले अधिकास किसानहरुमा बिउ किनेर लगाउने बानिको विकास सँगै उन्त जातको बिउ भएको उनले बताए ।
उनले किसानहरूमा गहुँ बाली सम्बन्धी ज्ञान बढ्नुका साथै विभिन्न किसिमका औजार उपकरणको प्रयोगले गर्दा रासायनिक मल मात्रै नभई प्राङगारिक मलको प्रयोगले गर्दै आइरहेको बताए ।