धनगढी पोष्ट
आइतबार, २५ साउन २०७७ मा प्रकाशित
धनगढी
शनिवार बेलुका टीकापुरमा दुई समूहबीच भएको झडपमा घाईते भएका तीनजनालाई नेपालगञ्ज रेफर गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता प्रहरी निरिक्षक हिक्मत थापाले झडपमा परी घाईते भएका गम्भिर तीनजनालाई नेपालगञ्ज रेफर गरिएको जानकारी दिए ।
उनका अनुसार रेफर हुनेमा टीकापुर नगरपालिका वडा नम्बर ६ का १७ वर्षीय दिनेश साउँद, १९ वर्षीय सुरज चौधरी र वडा नम्बर ९ का १७ वर्षीय भुवन साउँद रहेका छन् ।
शनिबार साँझ टीकापुर नगरपालिका वडा नम्बर ६ र ९ का युवाहरुबीच झडप हुँदा पाँच जना घाईते भएका थिए । झडपका क्रममा धारिलो हतियार प्रहार भएको देखिएपनि बरामद गर्न नसकिएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटना स्थलबाट टिकापुर ६ प्रसेनीका रवन साउँद र लोकेन्द्र कडायतलाई शनिबार नै पक्राउ गरिसकेको छ ।