तीन दिनपछि मृतक चौधरीको शव बुझ्न परिवार सहमत

तीन दिनपछि मृतक चौधरीको शव बुझ्न परिवार सहमत

कैलाली कारागारमा  कैदीबन्दीबीचको झडपका क्रममा  मारिएका भरत चौधरीको शव बुझ्न उनको परिवार तयार भएको छ । जाहेरी लिन र उनकी छोरीको शिक्षाको व्यवस्था मिलाउने प्रतिवद्धतापछि परिवार शव बुझ्न तयार भएको हो ।

प्रहरी प्रशासनसँगको सहमतिपछि धनगढी उपमहानगरपालिका ४ का भरत चौधरीको परिवारले चौधरीमाथि आक्रमण गरेर हत्या गर्ने कैदीबन्दीको पहिचान गरेर कारवाहीको दायरामा ल्याउन माग गर्दै जिल्ला प्रहरी कार्यालयमा सोमबार दिउँसो जाहेरी दिएको छ । जाहेरी परेसँगै सेती प्रादेशिक अस्पतालमा शव परीक्षणको काम भइरहेको छ ।  

गत शुक्रवार राति कैलाली कारागारमा कैदीबन्दीबीच भएको झडपमा धनगढी ४ का चौधरीको मृत्यु भएको थियो ।  मृत्युपछि छानबीनको माग गर्दै उनको परिवारले शव बुझेको थिएन ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जाहेरी प्राप्त भएको  र अनुसन्धान अघि बढाइएको बढाइए ।   चौधरीको हत्यामा संलग्न कैदीबन्दीको पहिचान गरेर कारवाही दायरामा ल्याइने डीएसपी सिंहले बताए ।

मृतकका भाइ विजय चौधरीले प्रमुख अधिकारी गोगनबहादुर हमालले टुहुरो बनेकी छोरीको निस्शुल्क पठनपाठन र दोषीलाई कारवाहीको दायरामा ल्याउने प्रतिबद्वतापछि शव बुझ्न तयार भएको बताए ।