धनगढी । सुदुरपश्चिम प्रदेश सरकारले दश लाख रुपैया भन्दा कमका आयोजनाहरुको कार्यान्वयन नगर्ने भएको छ । सुदुरपश्चिम प्रदेश सरकार मन्त्रीपरिषदको शुक्रवार बसेको बैठकले दश लाख भन्दा कमका आयोजनाहरुको कार्यान्वयन नगर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारको खर्च कटौती सम्वन्धी निति अघि बढाउने क्रममा मन्त्रीपरिषदको बैठकले खर्च कर्टातीका पाँच निर्णय गरेको । बैठकले प्रदेश सरकार मातहतका निकायहरूबाट संचालन हुने कुनै पनि आयोजनाहरू उपभोक्ता समिति मार्फत कार्यन्वयन नगर्ने नगराउने निर्णय समेत गरेको छ ।
मुख्यमन्त्री कमल बहादुर शाहको अध्यक्षतामा बसेको बैठकले एउटै क्रियाकलाप नम्वरमा समावेश भएका दुई वा दुई भन्दा बढी खानेपानी तथा सिचाई बाहेकका आयोजना तथा कार्यक्रम कार्यान्वयन नगर्ने, हाल बिनियोजन रकममा छपाई तथा प्रकाशन तर्फ ७० प्रतिशत र बैठक भत्ता, भ्रमण भत्ता, अनुगमन तथा मुल्याङ्कन खर्च, तालिम, गोष्ठी तथा सेमिनार तर्फ विनियोजन बजेटको ५० प्रतिशत कटौती गर्ने निर्णय समेत बैठकले गरेको छ ।
बैठकले अनुभव आदान प्रदान तथा अन्तर प्रदेश भ्रमण, दिवस, समाहरोह, उत्सव मनाउने जस्ता कार्यक्रम कार्यान्वयन नगर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सलहकार डम्बर बमले बताए ।