धनगढी पोष्ट मङ्गलबार, ०४ कार्तिक २०८२   October 21, 2025

विपीन जोशीको महकाली किनारमा अन्त्येष्टि, शवयात्रामा हजारौंको सहभागिता

विपीन जोशीको महकाली किनारमा अन्त्येष्टि, शवयात्रामा हजारौंको सहभागिता

प्यालेस्टिनी लडाकु समूह हमासद्वारा इजरायलबाट बन्धक बनाइएका बेला ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको  आज (मंगलबार) कञ्चनपुरस्थित महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ ।

हजारौंको सहभागितामा भएको शवयात्रापछि महाकालीको भुजेलाघाटमा बिपीनको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको हो । शवयात्रामा नेपालका लागि इजरायली राजदूत समेत सहभागी थिए ।

विपिन जोशीको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो ।

इजरायलबाट सोमबार काठमाडौं ल्याइएको विपिनको शव नेपाली सेनाले साँझ धनगढी विमानस्थलसम्म लगेको थियो । त्यहाँबाट राति नै भीमदत्त ३ स्थित घरमा लगिएको थियो ।

दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका विपिन इजरायल पुगेको एक महिनामै हमासको आक्रमणमा परेका थिए । हमास लडाकुहरु गाजा क्षेत्रबाट इजरायलमा प्रवेश गरी सन् २०२३ को अक्टुबर ७ मा आक्रमण गरेका थिए ।

उक्त आक्रमणमा परेर सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई बन्धक बनाइएको थियो ।