धनगढी पोष्ट
बिहिबार, ०६ कार्तिक २०८२ मा प्रकाशित
यमपञ्चक समेत भनिने तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदै ।
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठुलो चाड तिहारको छैठौँ दिनलाई यमद्वितीया पनि भनिन्छ । यमपञ्चक समेत भनिने तिहार पाँच दिनको हुने भए पनि यस वर्ष तिथि वृद्धि भई छैठौँ दिनमा भाइटीका परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।
आज आज दिनभर टीका लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान
११:३९ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले बताए । यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पुर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा तुला राशिमा रहेका पश्चिमका चन्द्रमा सम्मुख पर्नेछन् । शुभ कर्ममा चन्द्रमालाई अघि (सम्मुख) वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ ।
तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद् भट्टराईले सुनाए ।