धनगढी पोष्ट बिहिबार, १३ कार्तिक २०८२   October 30, 2025

डडेल्धुराको कैलाश समैजेश्वर सामुदायिक वनका  अध्यक्ष मडै बिरुद्ध अख्तियारद्धारा मुद्दा दायर

डडेल्धुराको कैलाश समैजेश्वर सामुदायिक वनका  अध्यक्ष मडै बिरुद्ध अख्तियारद्धारा मुद्दा दायर

डडेल्धुराको आलिताल गाउँपालिका–३ स्थित कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सर्वजित मडै विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले . १८ लाख १५ हजार रुपैया  बिगो कायम गरी कैद र जरिवानाको माग दाबी सहित बुधबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो ।

मडैले समितिको रकम हिनामिना, हानिनोक्सानी र दुरुपयोग गर्ने उद्देश्यले समूहको मिति २०७८ मंसिर १० गतेको माइन्युटको नक्कली प्रतिलिपि तयार गरी सचिव र कोषाध्यक्षको जानकारीबिना चेकमा किर्ते हस्ताक्षर गरेको आयोगद्धारा प्रकाशितप्रेस विज्ञप्तिमा उल्लेख छ ।

सोही चेक प्रयोग गरी उनले मिति २०७८ मंसिर १६ गतेदेखि २०७९ वैशाख २५ गतेसम्म विभिन्न मितिमा जम्मा २० लाख १५ हजार रकम आफ्नै नाममा झिकेका थिए । विज्ञप्तिमा भनिएको छ, ‘समितिले उक्त रकम हिनामिना भएको थाहा पाएपछि मडैले रु. २ लाख मात्र समितिको खातामा फिर्ता जम्मा गरेका थिए भने बाँकी रु १८ लाख १५ हजार रकम दुरुपयोग गरेको पुष्टि भएको छ ।‘

मडैले रकम समितिको डडेल्धुरा शाखाबाट नभई अत्तरिया, धनगढी, चौमाला र महेन्द्रनगरका विभिन्न शाखाबाट निकालेको प्रमाण फेला परेको आयोगले जनाएको छ । अनुसन्धानका क्रममा डिभिजन वन कार्यालय डडेल्धुराबाट प्राप्त स्थलगत प्रतिवेदन, फरेन्सिक परीक्षण र बैंकका अभिलेखहरूले मडैले किर्ते दस्तावेजमार्फत रकम निकालेको पुष्टि भएको अख्तियारको भनाइ छ ।