धनगढी पोष्ट
सोमबार, २४ कार्तिक २०८२ मा प्रकाशित
धनगढी । कृषि सामाग्री केन्द्र लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले यस बर्ष हिउँदे वालीका लागि रासायनिक मल अभाव नहुने जनाएका छन् ।
किसानले मल अभाव हुन सक्ने आसंका गरे पनि हिउँदे बालीका लागि डिएपि र युरियाको अभाव हुने अवस्था नरहेको कृषि सामाग्री केन्द्र लिमिटेड धनगढीका प्रमुख नवलसिंह बोगटीले बताए । बोगटीका अनुसार कृषि समाग्री केन्द्र लिमिटेड धनगढीलाई चालु आर्थिक बर्ष २०८२÷०८३ का लागि १० हजार ६ सय मेट्रिक टन युरिया तथा ७ हजार ८ सय मेट्रिक टन डिएपि बेच्ने कोटा निर्धारण गरिएको छ । जस मध्य आइतबारसम्म दुई हजार ८ सय ४५ मेट्रिक टन युरिया तथा ४ हजार ८ सय ४४ मेट्रिक टन डिएपि वितरण भइसकेको उनले बताए । ‘थप मल आउने क्रम जारी छ’ कार्यालय प्रमुख बोगटीले भने, ‘साल्ट ट्रेडिङ कर्पोरेसनबाट पनि मल वितरण भइरहेको छ, त्यसैले मल अभाव हुदैन भन्ने हाम्रो अनुमान हो, किसानलाई नआत्तिन आग्रह गर्दछौं ।’
तत्कालका लागि किसानलई डिएपि मल आवश्यक पर्ने बताउँदै बोगटीले डिएपिको कुनै अभाव नरहेको बताए । ‘युरिया गहुँ सिचाई पछि बढी आवश्यक पर्छ,’ बोगटीले भने, ‘तत्काल डिएपि आवश्यक पर्ने हो, अहिले लाल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि समाग्री केन्द्र लिमिटेडबाट गरी करिव ८ हजार मेट्रिक टन डिएपि किसानसम्म पुगिसकेको अवस्था छ र अझै वितरण भइरहेका कारण समस्या हुने अवस्था छैन ।’
साल्ट ट्रेडिङ कर्पोरेसन सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रमुख तेज बहादुर कुँवरले युरिया पुगि नसकेको भए पनि डिएपि प्रयाप्त रहेको बताए । कुँवरका अनुसार साउन देखि हालसम्म साल्ट ट्रडिङ कर्पोरेसन लिमिटेड धनगढी कार्यालयले एक हजार ४ सय १६ मेट्रिक टन युरिया, तीन हजार दुई सय १६ मेट्रिक टन डिएपि, १ सय ६१ मेट्रिक टन पोटास वितरण भइसकेको बताए ।
साल्ट ट्रडिङ कर्पोरेसनसंग अझै ३ सय ९६ मेट्रिकटन डिएपि तथा ४ सय २ मेट्रिक टन पोटास स्टक रहेको बोगटीले बताए । हाल युरिया भने भण्डारण नरहेको कुँवरको भनाई छ । ‘तत्कालका लागि डिएपि आवश्यक पर्दछ’ कार्यालय प्रमुख कुँवरले भने, ‘साउनदेखि हालसम्म मल बिक्री गर्ने दुवै संस्थाले प्रयाप्त वितरण भइसकेको अवस्था भएका कारण अभाव हुने देखिदैन, दुवै संस्थासंग अझै स्टक रहेकाले किसानलाई ढुक्क हुन आग्रह गर्दछौं ।’ उनले युरिया मल तत्काल स्टक नरहे पनि गहुँ सिंचाई गर्ने समयसम्म भित्रिसक्ने बताए ।
यस बाहेक साल्ट ट्रडिङ कर्पोरेसन लिमिटेडले गैर अनुदानमुलक रासायनिक मल समेत बिक्री वितरण गर्दै आएको छ । साल्ट ट्रडिङ कर्पोरेसनले डिएपिको विकल्पमा सिंगल सुपर फस्फेट (एसएसपि) र एमोनियम सल्फेट मल बिक्री गर्ने गरेको छ । साउनदेखि हाल सम्म सिंगल सुपर फस्फेट ४ सय ७० मेट्रिक टन तथा ४२ मेट्रिक टन एमोनियम सल्फेट बिक्री गरेको कार्यालय प्रमुख कुँवरले बताए । कार्यालयसंग हाल ३ सय ८६ मेट्रिक टन सिंगल सुपर फस्फेट भण्डारण रहेको जनाइएको छ । एमोनियम सल्फेट भने हालका लागि भण्डारण रहेको छैन ।
‘डिएपिको विकल्पमा सिंगल सुपर फस्फेट तथा युरियाको विकल्पमा एमोनियम सल्फे प्रयोग गर्न सकिन्छ,’ कार्यालय प्रमुख कुँवरले भने, ‘दुई वटै मल डिएपि र युरिया भन्दा बढी प्रभावकारी रहेका छन् ।,’ केही दिन यता बजारमा रासायनिक मल अभाव रहेको भन्ने समाचार सामाग्री आइरहेको भएपनि अभावको अवस्था भने नरहेको उनले दोहो¥याए । ‘सवै स्थानमा सहकारी संस्था मार्फत धमाधम मल वितरण भइरहेको छ,’ कुँवरले भने, ‘त्यसैले आ–आफ्नो पायक पर्ने स्थानमा गएर किसानले मल लग्न सक्नुहुनेछ, अभाव हुँदैन ।’