झोलुङ्गे पुल बगाएपछि बाजुराको अजयटोड्की गाउँमा उद्धारका लागि गएको टोली बीच बाटोबाटै फिर्ता

धनगढी

  बाजुराको गौमूल गाउँपालिका२ अजयटोड्की गाउँमा उद्धारका लागि गएको प्रहरी र गाउँपालिकाको टोली नदिमा पुल नभएपछि बिचबाटै फिर्ता भएको छ । बूढीगंगा नदीमा आएको बाढीले झोलुङ्गे पुल बगाएको छ ।

  झोलुङ्गे पुल बगाएकाले नदी तर्न सक्ने अवस्था नहुँदा गाउँमा जान नै नसकी फिर्ता हुनुपरेको गाउँपालिकाका उपाध्यक्ष सीता थापाले जानकारी दिइन् ।

  प्रहरी र गाउँपालिकाको टोली सोमबार नै गाउँपालिकाबाट हिंँडेको थियो । नदी तर्न कुनै उपाय नहुँदा टोली फिर्ता भएको छ । हेलिकप्टरमार्फत उद्धार गर्नुबाहेक कुनै विकल्प नरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख टंकप्रसाद भट्टराईले बताए ।

  झोलुङ्गे पुल बगाउँदा दुई दिनदेखि गाउँ नै सम्पर्कविहीन छ । त्यहाँ कोही जान सकेको छैन, सञ्चार सम्पर्क छैन । कति क्षति भएको भन्ने कुनै जानकारी हुन नसकेको गाउँपालिकाले जनाएको छ । पुलसँगै बस्ती समेत जोखिममा परेको र केही घरसमेत बगेको स्थानीयवासी रामबहादुर बुढाले बताए ।

 अजयटोड्की गाउँका २० घरधुरीमा ९७ जना छन् । हेलिकप्टरका लागि पहल भइरहेको र चाँडै उद्धार गरिने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए ।