धनगढी पोष्ट
मङ्गलबार, १७ चैत २०८२ मा प्रकाशित
धनगढी । नेपालको शिक्षा क्षेत्रलाई सुदृढ बनाउने उदेश्यका साथ सञ्चालन गरिएको Technical Support Cooperation to School Education Sector (TECSES) परियोजनाको सुदुरपश्चिममा प्रदेशमा शुरु भएको छ । मंगलबार धनगढीमा आयोजित कार्यक्रममा सुदुरपश्चिमको सामाजिक विकास मन्त्री मेखराज खड्काले परियोजनाको शुभारम्भ गरेका हुन् ।
फिनल्याण्ड र युरोपियन युनियनको संयुक्त लगानीमा सँचालन भैरहेको परियोजना शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय, बिश्वबिद्यालयहरु तथा प्रादेशिक र स्थानीय सरकारहरुसँगको सहकार्यमा सँचालन भैरहेको छ । परियोजनाले नेपाल सरकारको बिद्यालय शिक्षा क्षेत्र योजनालाई सहयोग गर्दछ ।
परियोजना सुदुरपचिममा दार्चुलाको महकाली नगरपालिका, कन्चनपुरको कृष्णपुर नगरपालिका, कैलालीको बर्दगोरिया गाउपालिका, डोटीको आदर्श नगरपालिका, डडेल्धुराको नवदुर्गा गाउपालिका, बझाङको बुङ्गल नगरपालिका, बैतडीको सिगास गाउपालिका, अछामको साफेबगर नगरपालिका र बाजुराको बुढीगंगा नगरपालिकामा लागु गरिएको छ ।
परियोजनाका सुदुरपश्चिम संयोजक रामदास चौधरीले परियोजनाले समावेशी र गुणस्तरिय शिक्षाको लागि प्रतिस्पर्धी र गुणस्तरिय शिक्षक बिकास गर्ने लक्ष्य राखेको बताए । परियोजना लागु भएका प्रत्येक पालिकामा दुई नमुना बिद्यालयको छनौट गरेर काम भैरहेको प्रदेश संयोजक चौधरीले बताए ।
संयोजक चौधरीका अनुसार परियोजनाले सुदुरपश्चिम बिश्वबिद्यालयसँग सहकार्य गरेर पाठ्यक्रम तयार पार्ने काम भैरहेको बताए । सुदुरपश्चिम बिश्वबिद्यालयले दुई बिषयमा बिशेषज्ञता सहितको पाठ्यक्रम बिकासमा काम गरिरहेको छ । यसले प्रदेशभरि शिक्षक शिक्षाको गुणस्तर सुधार गर्न सहयोग पुग्ने अपेक्षा छ । बिश्वबिद्यालयले नै प्रतिस्पर्धी र सक्षम जनशक्ति तयार पार्ने भएकोले सुदुरपश्चिम बिश्वबिद्यालयसँग सहकार्य भैरहेको चौधरीले बताए ।
‘शिक्षकहरुमा आत्मबिश्वास बढ्दै गएको देख्दा र बिद्यालयहरु सबैका लागि, बिशेष गरि सीमान्तकृत समुदायका बालबालिका तथा अपाङगता भएका बालबालिकाका लागि अझ समावेशी बन्दै गएको देख्दा म प्रेरित छुँ’ प्रदेश संयोजक चौधरी भन्छन् ।
परियोजना सुदुरपश्चिम, कर्णाली र मधेश प्रदेशमा कार्यान्वयन भैरहेको छ । परियोजान २०२४ मा कर्णालीमा शुरु भएको थियो र अहिले सुदुरपश्चिममाभ बिस्तार भएको छ । २०२४मा शुरु भएको परियोजना सन् २०२९ सम्म सँचालन हुनेछ ।
सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मीको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रमा कार्यक्रम लक्षित पालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखाका प्रमुख, फिनल्याण्ड दुतावास, युरोपियन युनियनका प्रतिनिधि, नागरिक समाजको सहभागिता रहेको थियो ।