धनगढी पोष्ट
बुधबार, ०२ बैशाख २०८३ मा प्रकाशित
धनगढी । नेपालकै सीमित बैकिङ्ग कारोवारको अनुमति पाउने नवजीवन सहकारी संस्था लिमिटेडको आगामी जेठमा नयाँ नेतृत्व चयन हुने भएको छ । वर्तमान कार्यसमितिको कार्यकाल सकिन लागेपछि जेठका पहिलो साता हुने सहकारीको साधारण सभाले नयाँ नेतृत्व चयन गर्नेछ ।
सहकारीको जेठ २ गते हुन लागेको ३२ औं साधारण सभाले नयाँ नेतृत्व चयन गर्नेछ ।
नवजीवनको साधारण सभाले यस पटक अध्यक्ष र उपाध्यक्ष सहित नौ सदस्यीय संचालन समिति गठन गर्नेछ । यसअघि १४ सदस्यीय समिति गठन हुने गरेको थियो । सहकारी प्राधिकरणले सँचालक समितिको संख्या नै तोकेर साधारण सभा गर्न निर्देशन दिएपछि ९ सदस्यीय समितिको निर्वाचन हुने नवजीवनका अध्यक्ष देब बहादुर बममे बताए ।
यसपटकको साधारण सभामा नवजीवनले साधारण सभामा आउने शेयर सदस्यहरुलाई यातायात खर्च दिने छैन । सहकारी प्राधिकरणले नै यातायात खर्च नदिन रोक लगाएकोले उक्त खर्च नदिइने अध्यक्ष बमले बताए ।
यसअघिका साधारण सभामा नवजीवनले साधारण सभामा उपस्थित हुने शेयर सदस्यहरुलाई यातायात खर्च दिदै आएको थियो ।
२०५० सालमा स्थापना भएका् नवजीवन सहकारीका हाल करिब ४० हजार शेयर सदस्य छन् । जेठ २ गतेको साधारण सभामा ५१ प्रतिशत शेयर सदस्यको उपस्थिति भएपछि मात्र साधारण सभा हुनेछ । उपस्थिति नपुगेमा जेठ ९ गते साधारण सभा बोलाइने छ । दोश्रो पटक बोलाइएको साधारण सभामा २५ प्रतिशत शेयर सदस्यको सहभागिता भए पुग्छ ।