धनगढी । नवजीवन सहकारी संस्थाको अध्यक्ष पदमा चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षमा उम्मेदवारी दर्ता गराउने चारै जना वर्तमान संचालक समितिका हुन् ।
नवजीवन सहकारीका वर्तमान उपाध्यक्ष चेतराज ओझा, सदस्यहरु केशव राज मिश्र, गोपाल राज पाठक र घन बहादुर शाहले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।
नवजीवन सहकारीको ३२ औ साधारण सभा जेठ २ गते धनगढीमा हुँदैछ । सभाले सहकारीको नयाँ नेतृत्व चेयन गर्नेछ । नवजीवनका हाल ४० हजार ५ शय शेयर सदस्य रहेका छन् ।
नवजीवन सहकारीको उपाध्यक्षमा ईश्वर प्रसाद जोशी, उत्तम जोशी र उपेन्द्र बिष्टले उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका उत्तम जोशी र बिष्ट वर्तमान संचालक समितिका सदस्य हुन् ।
त्यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजकमा गणेश प्रसाद जोशी र चेतराज जोशीले उम्मेवारी दिएका छन् । लेखा सपरिवेक्षण समितिको सदस्यमा खेमराज पाठक, गणेश प्रसाद उपाध्याय, टेकराज जोशी र दिलिप रोका क्षेत्रीले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै सात सदस्य पदका लागि तीस जनाले उम्मेदावरी दर्ता गराएका छन् ।
नवजीवन सहकारीको हाल अध्यक्ष, उपाध्यक्ष र सदस्य सहित १२ सदस्यीय संचालक समिति छ । सहकारी प्राधिकरणले सहकारीको संचालक समितिको संख्या घटाउने निर्णय गरेपछि अध्यक्ष, उपाध्यक्ष र सदस्य गरि ९ सदस्यीय समितिको निर्वाचन हुन लागेको हो ।
नवजीवन सहकारी सीमित बैकिङ कारोवारको अनुमति पाउने नेपालकै पहिलो सहकारी हो । २०५० सालमा धनगढीमा बैकिङ सेवा पुरयाउने उदेश्यका साथ नवजीवन सहकारीको स्थापना भएको हो ।
हाल सहकारका कैलाली, कन्चनपुर, बर्दिया र काठमाण्डौमा सेवा केन्द्रहरु रहेका छन् ।