धनगढी पोष्ट
शुक्रबार, २६ असार २०८३ मा प्रकाशित
धनगढी । किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना एक दिवंगत सदस्यका परिवारलाई ’सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख रुपैयाँभन्दा बढीको आर्थिक सहायता उपलब्ध गराएको छ ।
संस्थाले डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय गर्दै आउनुभएकी आफ्नी ऋणी सदस्य कलावती देवी बोहराका श्रीमान् भीमबहादुर बोहराको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली सभा आयोजना गरेको थियो । सो सभामा वडा अध्यक्ष बर बहादुर बोहराको उपस्थितीमा सँस्थाले मृतककी श्रीमती एवं संस्थाकी सदस्य कलावती बोहरालाई कुल ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको हो ।
भविष्य सुरक्षित गर्दै संस्थाको सुरक्षण कोष
किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्यहरूले लिने लघुऋणको अनिवार्य बिमा गर्ने गरेको छ । यस बिमाले घरमूलीको समेत रक्षावरण गर्ने हुँदा भवितव्य परेको अवस्थामा ऋण मिनाहा हुने व्यवस्था रहेको छ । संस्थाले ऋण मिनाहा गरिदिनुका साथै सदस्य सुरक्षण कोषबापत थप रकम समेत उपलब्ध गराएको हो ।
संस्थाले आफ्ना सदस्यहरूका लागि ’जन्मदेखि मरणोपरान्त’ सम्मका विभिन्न सामाजिक सुरक्षण सुविधाहरू सञ्चालन गर्दै आएको छ । जस अन्तर्गत सदस्य सुरक्षण कोषबाट विभिन्न सहायता स्वरूप आफ्ना सदस्यहरूलाई हालसम्म कुल ३४ करोड ९२ लाख ४६ हजार ९ सय रुपैयाँ रकम उपलब्ध गराइसकेको संस्थाले जनाएको छ ।