धनगढी पोष्ट शुक्रबार, ०५ बैशाख २०८२   April 18, 2025

प्रेस स्वतन्त्रतामा अंकुश लगाउने प्रावधान सहितको मिडिया विधेयकको बिरोध

प्रेस स्वतन्त्रतामा अंकुश लगाउने प्रावधान सहितको मिडिया  विधेयकको बिरोध

धनगढी

   सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको मिडिया विधेयकको विरोधमा नेपाल प्रेस युनियन कैलाली शाखाले बुधवार सुदूरपश्चिम प्रदेश सभा अगाडी विरोध प्रदर्शन गरेको छ ।

   रेडियो, एफएम र टेलिभिजन प्रसारण सम्बन्धमा व्यवस्था गर्न सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको विधेयकमा विरोध जनाउँदै प्रेस युनियनले प्रदर्शन गरेको हो ।  प्रदेश सरकारले आज प्रदेश सभाबाट पारित गरेको  मिडिया विधेयक मिडिया मैत्री र पत्रकार मैत्री नभएको नेपाल प्रेस युनियन कैलाली सभापति श्रवण देउवाले बताए ।

 सरकारले ल्याएको मिडिया विधेयक केही बुँदाहरू सच्चाउनु पर्ने नेपाल पत्रकार महासघ कैलालीका कोषाध्यक्ष हिमाल जोशीले बताए । मिडिया माथि हस्तक्षेप गर्दै प्रदेश सरकारले विधेयक पास गर्न लागेको भन्दै उनले आपत्ति जनाए ।

 प्रेस स्वतन्त्रता संविधानमा उल्लेख भए पनि प्रदेश सरकारले प्रेसलाई नियन्त्रण गर्नका लाई विधेयकमा केही बुँदाहरू समेटिएकाले ती बुँदाहरू सच्चाउनु पर्ने नेपाल पत्रकार महासघका कैलालीका पूर्व सभापति भरत शाहले बताए । प्रदेश सरकारले ल्याएको रेडियो, एफएम र टेलिभिजन प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि सुरु देखिनै आफूहरूले विरोध जनाउँदै आएको वरिष्ठ पत्रकार मनमोहन स्वारले  बताए । प्रदेश सरकारले ल्याएको मिडिया विधेयक जस्ताको तस्तै प्रदेश सभामा पास गर्न लागेकाले आफूहरूले केही बुँदाहरू सच्चाउनु पर्ने भन्दै विरोध जनाएको उनले  बताए ।