धनगढी पोष्ट शुक्रबार, १३ भदौ २०८३   August 28, 2026

रसुवाको बाढीमा सुदूरपश्चिमका १३३ जना सम्पर्क बिहीन, सबै भन्दा बढी कैलालीका

रसुवाको  बाढी पहिरोमा परि सुदुरपश्चिमका नौ वटै जिल्लाका व्यक्तिहरु सम्पर्कबिहीन बन्न पुगेका छन् ।

रसुवाको बाढीमा सुदूरपश्चिमका १३३ जना सम्पर्क बिहीन, सबै भन्दा बढी कैलालीका

धनगढी । बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर सुदूरपश्चिमका एक सय ३३ जना सम्पर्क विहीन भएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार बिहीबार राती सम्म कैलालीबाट सवै भन्दा बढी मानिस सम्पर्क विहीन भएको सूचना प्रहरी समक्ष पुगेको छ । कैलालीका ४० जना सम्पर्कमा आउन नसकेको सूचना प्राप्त भएको प्रदेश प्रहरी कार्यालय धनगढीका प्रबक्ता एसएसपि पदमबहादुर विष्टले बताए ।

उनका अनुसार कैलालीको पनि टीकापुर क्षेत्रका धेरै नागरिक सम्पर्कमा नआएको सूचना प्राप्त भएको छ । बिहीबार राती सम्म टीकापुर क्षेत्रका २८ जना सम्पर्कमा आउन नसकेको गुनासो परिवार श्रोतबाट उपलब्ध भएको एसएसपि विष्टले बताए ।

त्यसैगरी जोशीपुर गाउँपालिकाका ८, जानकी गाउँपालिकाका ३, धनगढी उप महानगरपालिकाका २, बर्दगोरिया गाउँपालिकाका २, गौरिगंगा नगरपालिकाका २, कैलारी गाउँपालिकाका २, घोडाघोडी नगरपालिकाका १ तथा दार्चुलाका एक जना सम्पर्कमा आउन नसकेको गुनासो जिल्ला प्रहरी कार्यालय कैलालीमा परेको प्रहरी प्रबक्ता विष्टले बताए ।

कैलाली पछि कञ्चनपुरका धेरै नागरिक सम्पर्कमा आउन नसकेको सूचना प्राप्त भएको उनले बताए । उनका अनुसार बिहीबार राती सम्म कञ्चनपुरका ४२ जना सम्पर्कमा आउन नसकेको भन्दै आफन्तजनले प्रहरी समक्ष गुनासो पेश गरेका छन् ।

त्यस्तै बाजुराका १४, बैतडीका ८, दार्चुलाका ४, डोटीका २, डडेल्धुराका १७, अछामका १ तथा बझाङका ४ जना सम्पर्कमा नआएको सूचना सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा प्राप्त भएको प्रबक्ता विष्टले बताए । ‘यो संख्या अझै बढ्न सक्छ, प्रबक्ता विष्टले भने, ‘त्यसैले अहिलेनै कति सम्पर्कविहीन छन् र कती सम्पर्कमा आए भन्ने एकिन तथ्यांक प्राप्त हुन सकेको छैन ।’

चिन तर्फको तिब्बतमा हिमपहिरो फुटेर बुधबार रसुवा हुदै बग्ने भोटेकोशी नदीमा बाढी आउँदा ठुलो जनधनको क्षेति भएको छ । हाल सम्म हजारौं नागरिक सम्पर्क विहीन भएका छन् । जसका ५ सय भन्दा बढी नागरिक विदेशी रहेका छन् ।