धनगढी पोष्ट
आइतबार, १५ भदौ २०८३ मा प्रकाशित
धनगढी । चीनको तिब्बत क्षेत्रमा हिमपहिरो जादा रसुवा लगायतका क्षेत्रमा आएको बाढीमा हराएका मध्य हाल सम्म ७ सय ५२ जनाको शव भेटिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको दिउँसो १ बजेसम्मको अपडेट सार्वजनिक गरेको अद्यावधिक तथ्यांकअनुसार बाढीका कारण हालसम्म ७ सय ५२ जनाको मृत्यु भएको पुष्टि भएको छ । सबैभन्दा बढी चितवनमा २५९ जनाको शव फेला परेको छ । यसैगरी, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा एक सय, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, तनहुँमा ३६ र रसुवामा १३ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ ।
२३९ जना घाइते रहेको र उनीहरूको उपचार भइरहेको छ । बाढीपछि अझै २ हजार ५ सय २ जना सम्पर्कविहीन छन् । सम्पर्कविहीन हुनेहरूमा जलविद्युत् आयोजनामा कार्यरत ९३३ जना, ५९२ जना विदेशी नागरिक र उनीहरूसँगै गएका १२७ जना नेपाली छन् ।
यसैगरी, रसुवाका ५६२ र नुवाकोटका ११५ जना स्थानीय बासिन्दा पनि बेपत्ता छन्। सुरक्षाकर्मीतर्फ नेपाल सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरीका १३ जना सम्पर्कविहीन रहेका छन् । हालसम्म ८ हजार ७३० जनाको जीवितै उद्धार गरिएको जनाइएको छ । जसमा सशस्त्र प्रहरीले ३ सय ५७, नेपाली सेनाले २ हजार ९ सय ७४ र नेपाल प्रहरीले २ हजार ६ सय ९९ जनाको उद्धार गरेका छन् ।
जलविद्युत्को सुरुङमा फसेका २ सय ७९ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । हवाई उद्धारमार्फत २ हजार ८ सय ४५ नेपाली र २ सय ३६ विदेशी नागरिकको उद्धार गरिएको प्राधिकरणले जनाएको छ । खोज र उद्धारका लागि सेनाका ८ हजार ३ सय १९, नेपाल प्रहरीका ७ हजार २९३ र सशस्त्र प्रहरीका ४ हजार २०३ गरी कुल १९ हजार ८९५ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खटिएका छन् ।