धनगढी पोष्ट
आइतबार, १५ भदौ २०८३ मा प्रकाशित
धनगढी । बैजनाथ सञ्चार प्रा.लि. द्धारा आयोजना गर्न लागिएको सुदुरपश्चिम गाइजात्रा सिजन २ स्थगित गरिएको छ । भोटेकोशी बाढीका कारण उत्पन्न बर्तमान अवस्थालाई मध्यनजर गर्दै गाइजात्रा स्थगित गरिएको हो ।
देश प्राकृतिक बिपत्तिको पीडामा रहेको र शोकमय अवस्थामा रहेको वर्तमान संवेदनशील परिस्थितिलाई ध्यानमा राख्दै निर्धारित मितिमा हुन लागेको कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको बैजनाथ सञ्चार प्रा.लि.का प्रवन्ध निर्देशक सरस्वती कुमारी खड्का भट्टद्धारा आइतबार प्रकाशिथ बिज्ञप्तिमा उल्लेख छ ।
बैजनाथ सञ्चार प्रा. लि. ले यही भदौ १७ गते धनगढीमा सुदुरपश्चिम गाइजात्रा २ को आयोजनाको तयारी गरेको थियो । सुदुरपश्चिममा कलाकारिताको बिकास गर्न र समाज र राजनीमिा रहेको खराबीलाई व्यंग्य मार्फत प्रस्तुत गरेर सुधार गर्न दवाव दिन गाइजात्रा आयोजना गर्न लागिएको थियो ।
सुदुरपश्चिम गाइजात्रा २ मनोरन्जनका साथै सामाजिक तथा समसामयिक बिषयबस्तुमाथि व्यंग्य मार्फत सन्देश प्रवाह गर्ने उदेश्यले आयोजना गर्न लागिएको कार्यक्रम हो’ बिज्ञप्तिमा भनिएको छ ‘कलाकार समाजका संवेदनशील प्रतिनिधि भएकाले देश र जनताको दुःखमा साथ दिनु हाम्रो पनि दायित्व हो भन्ने भावनाका साथ कार्यक्रम स्थगित गरिएको छ ।’
स्थगित कार्यक्रमको नयाँ मिति, समय र अन्य आवश्यक विवरण केही दिनमा नै सार्वजनिक गरिने बिज्ञप्तिमा जनाइएको छ ।
गाइजात्रामा कलाकारण मनोज गजुरेल सहित सुदुरपश्चिमकका कलाकारहरुको समेत प्रस्तुति हुने कार्यक्रम रहेको थियो ।
