धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

बाजुरा पुगेर गृहमन्त्रीले पहिरो पीडितलाई राहत दिए

धनगढी

 गृहमन्त्री रामबहादुर थापाले बाजुराका पहिरो र बाढी पीडितलाई राहत वितरण गरेका छन् । गृहमन्त्री नेतृत्वको टोली मंगलबार बाजुरा जिल्लाको गौमुल गाउँपालिका वडा न १ मा पुगेर बाढी र पहिरो पीडितहरूलाई राहत साम्रगी बितरण गरेको हो ।

  लगातारको बर्षाका कारण साउन २५ गते राति बुढीगंगा नदिमा आएको बाढी र पहिरोले गौमुल गाउँपालिका वडा नम्वर २ को अजयटुटकीका विस्थापीत पचास परिवारलाई गृहमन्त्री सहितको टोलीले  राहत वितरण गरेको छ ।

  गृहमन्त्री सहितको टोली साउन २६ गते बाजुरा आउने तालिका रहेको भएपनि मौसम अनुकुल नभएर आउन नसकेको टोलीमा सहभागीले बताएका छन्  । गृहमन्त्री सहितको टोली काठमाण्डौबाट जहाजमार्फत सुर्खेत र सुर्खेतबाट हेलिकप्टर मार्फत बाजुरा आएर राहत वितरण गरेको बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताए  ।

  टोलीमा गृहमन्त्री सहित गृहमन्त्रीका दुईजना सल्लाहाकार, बाजुरा जिल्लाका प्रतिनिधि सभा सदस्य लालबहादुर थापा, पूर्ब उद्योग मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी सुुदुरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापा, सुदुरपश्चिम प्रदेश सरकारका अन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह रहेका थिए । 

 बाढी पहिरोले बडिमालिका नगरपालिका, गौमुल गाउँपालिका र बुढीगंगा नगरपालिकाका नदि छेउका वासिन्दा बिस्थापित भएका थिए । टोलीले बिस्थापितहरूको अध्ययन गर्नुको साथै राहत साम्रगी बितरण गरेको छ ।