धनगढी पोष्ट
सोमबार, ०८ भदौ २०७७ मा प्रकाशित
धनगढी
अछामको साँफेबगर नगरपालिका मंगलबार बेलुकादेखि एक हप्ताको लागि सिल हुने भएको छ । साँफेबगर नगरपालिकाले मंगलबार साँझ ७ वजेबाट नगरपालिकाका १४ वटै वडा पूर्ण रुपमा सिल गर्ने जनाएको छ ।
कोरोना संक्रमण फैलिएर जोखिम बढ्दै गएपछि आइतबार बसेको सवैपक्षीय वैठकले एक हप्ताको लागि नगरपालिकालाई पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको साँफेबगर नगर प्रमुख कुलबहादुर कुँवरले बताए ।
स्वास्थ्य संस्था वाहेक सम्पूर्ण व्यवसाय १७ भदौ सम्मको लागि बन्द हुने नगर प्रमुख कुँवरले बताए । उनका अनुसार अत्यावश्यक काम बाहेक सामान्य हिडडुल समेतमा कडाइ गर्ने निर्णय भएको छ ।
हाल सम्म साँफेबगर नगरपालिकामा १ हजार ५ सय ८० जनाको स्वाव परीक्षण गर्दा २ सय ५ जनामा कोरोना पुष्टि भएको छ । संकलन गरिएका स्वाव मध्य अझै १ सय २७ जनाको रिर्पोट आउन वाँकी रहेको स्वास्थ्य शाखाका निमित्त प्रमुख लक्ष्मणनाथ योगीले जानकारी दिए ।