धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

सुदूरपश्चिमका झण्डै साढे ५ हजारमा साढे ४५ सयले कोरोना जिते

सुदूरपश्चिमका झण्डै साढे ५ हजारमा साढे ४५ सयले कोरोना जिते

धनगढी

   सुदूरपश्चिममा मंगलबार सम्म कोरोना संक्रमण जितेर घर फर्कनेको संख्या चार हजार पाँच सय ८९ पुगेको छ । मंगलबार कोरोना मुक्त भएर थप एक सय ८९ जना डिस्चार्ज भए संगै डिष्चार्ज हुनेको संख्या ४ हजार ५ सय ८९ पुगेको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

  प्रदेशका विभिन्न अस्पताल र स्थानीय तहको आईसोलेसनबाट उनीहरुलाई कोरोना जितेको भन्दै घर पठाइएको हो । मन्त्रालयका अनुसार मंगलबार बझाङका एक सय ६६ जना, कैलालीका १५ जना, कञ्चनपुर र डोटीबाट चार÷चार जनालाई डिस्चार्ज गरिएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीका अनुसार कोरोना जित्नेको संख्या अहिलेसम्म सबैभन्दा बढि कैलालीमा एक हजार तीन सय ३१ रहेको छ । उनका अनुसार अछामका सात सय १३कञ्चनपुरका पाँच सय ८५, डोटीका पाँच सय ८० र बाजुराबाट चार सय ४२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

यसैगरी बैतडीबाट तीन सय २२, डडेल्धुराबाट दुई सय ९९, बझाङबाट दुई सय ७६ र दार्चुलाबाट ४१ जना संक्रमितलाई डिस्चार्ज गरिएको कार्कीले जानकारी दिए ।

 प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अब सुदूरपश्चिममा एक्टिभ केस अर्थात संक्रिय संक्रमित ८ सय ६८ रहेका छन् । संक्रमण पुष्टि भएका र लक्षण देखिएका ८९ जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।

 महाकाली अस्पतालमा ३२, टीकापुर अस्पतालमा २४, सेती प्रादेशिक अस्पतालमा १९, जिल्ला अस्पताल अछाममा १०, जिल्ला अस्पताल डोटी र डडेल्धुरा अस्पतालमा दुई÷दुई जना संक्रमितको उपचार भईरहेको छ । प्रदेशमा वाँकी रहेका अन्य संक्रमितहरुको भने केही स्थानीय तहको आईसोलेसन र केही घरमै रहेका मन्त्रालयका महाशाखा प्रमुख कार्कीले जानकारी दिए ।

 सामाजिक विकास मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा मंगलबार सम्म ५ हजार ४ सय ६६ जनामा संक्रमण पुष्टि भएको छ । जसमा १ हजार ४ सय ११ महिला र ४ हजार ५५ पुरुष रहेका छन् ।