धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

डोटीमा भोली राती १२ बजेदेखि निषेधाज्ञा, कैलालीमा पनि थपिन सक्ने

धनगढी

  डोटीमा भदौ १४ गते आइतबार राती १२ बजेदेखि २१ गतेसम्म लागु हुने गरी निषेधाज्ञा लागु गर्ने निर्णय भएको  छ ।  जिल्लामा कोरोना महामारीको प्रभाव बढ्दै गएपछि संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा सहजताका लागि जिल्ला संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले एक साता निषेधाज्ञा लागु गर्ने निर्णय गरेको हो ।

   डोटीका प्रमूख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले संकट व्यवस्थापन केन्द्रको बैठकले निर्णय गरिसकेको र आईतबार आदेश जारी गरिने बताए । निषेधाज्ञाका क्रममा अत्यावश्यकीय सेवा बाहेक अन्य सेवाहरु पूर्ण रुपमा बन्द हुने उनले बताए ।

 यता सुदूरपश्चिम प्रदेशको राजधानी रहेको कैलालीमा भदौ ४ गते राती देखि देखि लागु गरिएको निषेधाज्ञा आईतबार अर्थात भोली सकिदैछ  । यसअघि प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको आदेश अनुसार १४ गतेसम्म निषेधाज्ञा लगाइएकोमा आज निषेधाज्ञालाई जारी राख्ने वा नराख्ने विषयमा प्रमुख जिल्ला अधिकारीले नै निर्णय लिनेछन् ।

 शुक्रवार बसेको सुरक्षा समितिको बैठकले १९ गतेसम्म निषेधाज्ञा लम्ब्याउन सिफारिस गरेको छ । उक्त सिफारिसको आधारमा प्रमुख जिल्ला अधिकारी बोहराले निषेधाज्ञालाई लम्ब्याउने सम्भावना बढि रहेको छ । निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार व्यवसाय सञ्चालन गर्न रोक लगाइएको    छ ।