धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

आइसोलेशनमा रहेका उपप्रधानमन्त्री सहित गृहमन्त्री र स्वास्थ्यमन्त्रीको पीसीआर नेगेटिभ

काठमाडौँ

  उपप्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री र प्रधानसेनापति सहितका पदाधिकारीको कोभिड१९ को पछिल्लो पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएको छ ।

  कोभिड१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी) को गत आइतबार बसेको बैठकमा सहभागी पदाधिकारीलाई चिया र पानी उपलब्ध गराउने व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि उनीहरुको पीसीआर परीक्षण गरिएको थियो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, प्रधानसेनापति पूर्णचन्द्र थापालगायत सिसीएमसीको उक्त बैठकमा सहभागी थिए ।

  उनीहरुको स्वाब बिहान सङ्कलन गरिएकामा शनिबार साँझ परीक्षणको नतिजा नेगेटिभ आएको नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए । बैठकमा चिया र पानी उपलब्ध गराउने व्यक्तिलाई कोरोना भएको गत बिहीबार पुष्टि भएपछि शुक्रबार त्यस बैठकमा सहभागी प्रायः सबै व्यक्ति आइसोलेसनमा रहेका थिए ।