धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

भरुवा बन्दुक सहित अवैध काठ चिरानमा संलग्न दुई जना पक्राउ

धनगढी

  अबैधरुपमा काठ चिरान गरिरहेका दुई जनालाई बनको टोलीले पक्राउ गरेको छ । सबडिभिजन वन कार्यालय वर्दगोरिया र देउराली सामुदायिक वनबाट गएको संयुक्त टोलीले काठ चिरान गरिरहेको अवस्थामा दुई जनालाई पक्राउ गरेको हो ।

  पक्राउ पर्नेमा मोहन्याल गाउँपालिका६ का ४३ वर्षीय नैन बहादुर सिँजाली मगर र ३६ वर्षीय तुल बहादुर घर्तिमगर रहेका छन् । मोहन्याल गाउँपालिका र लम्कीचुहा नगरपालिकाको सिमानामा रहेको देउराली सामुदायिक वनको खहरे खोलामा पर्ने राष्ट्रिय वन क्षेत्रभित्र सालको काठ चिरान गर्दै गरेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

 भरुवा बन्दुक सहित दुई जनालाई पक्राउ गरिएको सबडिभिजन वन कार्यालय वर्दगोरियाका प्रमुख सहायक वन अधिकृत कृष्णबहादुर बोहोराले बताए । अधिकृत वोहोराका अनुसार उनीहरुबाट दुई थान भरुवा बन्दुक, १४ फुटका ९ थान सालको कडी, काठ चिर्ने ३ वटा आरा, २ बञ्चरा बरामत गरिएको छ ।