धनगढी पोष्ट मङ्गलबार, २५ बैशाख २०८१   May 7, 2024

एनआरएनए डेनमार्कमा अधिकारी निर्वाचित

अधिकारी वर्तमान कार्य समितिका महासचिव पनि हुन् ।

एनआरएनए डेनमार्कमा अधिकारी निर्वाचित
शैलेन्द्र अधिकारी

कोपनहेगन (डेनमार्क) । शैलेन्द्र अधिकारीको नेतृत्वमा गैर आवासीय नेपाली संघ (एनआरएनए) डेनमार्कको नयाँ कार्य समिति चयन भएको छ ।

१ सय ८० मत ल्याएर अधिकारी निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी शिब कार्कीले १ सय ४२ मत पाए भने अर्का प्रत्यासी दिपकराज रिजालले ८७ मत ल्याए । अधिकारी वर्तमान कार्य समितिका महासचिव पनि हुन् भने रिजाल वर्तमान उपाध्यक्ष हुन् ।

एनआरएनएको छौटौं अधिवेशनपछि भएको निर्वाचनमा उपाध्यक्ष खुल्लामा राधाकृष्ण सापकोटा र सुनिल विराजी यादव विजयी भए । उपाध्यक्षका अर्का प्रत्यासी चन्द्रमणी पौड्याल पराजित भए । यसैगरी २ सय ३८ मत ल्याएर महेश सिंह खत्री महासचिवमा विजयी भए भने उनका प्रतिस्पर्धी राघवेन्द्र प्रताव सिंह कार्कीले १ सय ५४ मत ल्याएर पराजित भए ।

त्यसैगरी सचिवमा शालिकराम शर्मा विजयी भए । शर्माले तिलकराज भट्टलाई पछि पारेका हुन् । कोषाध्यक्षमा निर्वाचित मोहन केसीले आफ्ना प्रतिस्पर्धी कृष्ण प्रसाद पराजुलीलाई हराएका हुन् ।

खुल्लातर्फ पाँच जना सदस्यहरु निर्वाचित भए । निर्वाचित हुने सदस्यहरुमा प्रदीपकुमार पाण्डे, नरेन्द्र वहादुर पौडेल, नारायण गौडेल, केशव निधी पन्त र भुवन खड्का रहेका छन् । महिला सदस्यहरु बिमला शर्मा खरेल र रितादेवी कंडेल मिश्र यसअघि नै निर्बिरोध निर्वाचित भएका थिए ।

महिला उपाध्यक्ष जमुना देवी रिजाल कंडेल, महिला संयोजक मनिषा सिंह कोइराला र युवा प्रतिनिधि गरुदत्त लामिछाने पनि निर्विरोध भए । गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्यि परिषद (एनआरएनए, आइसीसी) तथा केन्द्रिय सदस्यका लागि अशोक शर्मा निर्विरोध निर्वाचित भए । १९ जनाको कार्य समितिमा १७ जना निर्वाचित भएका छन् भने बाँकी मनोनित हुनेछन् ।

बिद्युतीय माध्यमबाट गरिएको निर्वाचनका लागि यो पटक एनआरएनए डेनमार्कमा ४ सय ६६ जना मात्र साधारण सदस्य छन् । यसअघि करिब १ हजार जना साधारण सदस्य थिए । अधिवेशनका लागि केन्द्रिय प्रतिनिधी यामलाल सुवेदी तोकिएका थिए भने निर्वाचन कमिटि संयोजक कृष्ण पौडेल छन् ।