धनगढी पोष्ट बुधबार, २६ बैशाख २०८१   May 8, 2024

भारतमा कालो ढुसीबाट ४३ सय को मृत्यु

भारतमा कालो ढुसीबाट ४३ सय को मृत्यु

धनगढी

भारतमा कालो ढुसीका कारण ४ हजार ३ सय बढीको मृत्यू भएको छ ।

कोभिड१९ को संक्रमण निको भएका बिरामीहरूलाई कालो ढुसी रोग लाग्ने गरेको छ । भारतमा प्रायः दुर्लभ र घातक मानिने म्यूकोर्माइकोसिस (कालो ढुसी) सक्रमित ४५ हजार ३ सय ७४ बिरामी फेला परेका स्वास्थ्यमन्त्री मनसुख मांडवियाले बताएका छन् ।

नाक र आँखामा प्रभाव पर्ने कालो ढुसीले कहिलेकाहीँ मस्तिष्कसम्म असर गर्ने गरेको स्वास्थ्य कर्मीको भनाई छ । यो रोग अहिले प्रायः कोभिडबाट निको भएको १२ देखि १८ दिनमा देखा पर्ने गरेको छ ।

चिकित्सकहरूले ढुसीको कोभिड उपचारका लागि प्रयोग गरिने स्टेरोइड औषधिसँग सम्बन्ध छ र मधुमेह भएका मानिसमा यसको बढी जोखिम रहेको औंल्याएका छन् । यो रोगबाट भारतमा सबैभन्दा बढी प्रभाव महाराष्ट्र र गुजरात राज्यमा देखिएको छ । ती स्थानमा  म्यूकोर्माइकोसिसबाट १ हजार ७ सय ८५ जनाको मृत्यु भएको छ ।

चिकित्सकहरूका अनुसार धेरै बिरामीहरूको अस्पताल पुग्नुअघि नै मृत्यु भएको छ र उपचार भएका अनि निको भएका कैयौँ बिरामीमा सङ्क्रमण फर्किएको पाइएको छ ।

के हो म्यूकोर्माइकोसिस <

यो एक प्रकारको निकै विरल देखिने सङ्क्रमण हो। यो सामान्यतया माटो, बोटबिरुवा, मल र कुहिएका फलफूल तथा तरकारीमा हुने म्यूकोर भनिने ढुसीसँगको संसर्गबाट सर्छ ।

यसले साइनस, मस्तिष्क र फोक्सोलाई असर गर्छ । मधुमेह वा प्रतिरोध क्षमता क्षीण भएका क्यान्सरका बिरामी वा एचआईभी एड्स भएका मानिसका लागि यो रोग प्राणघातक बन्न सक्छ ।

चिकित्सकहरूका अनुसार एम्फोटेरिसिन बी अथवा एम्फोबी भनिने एन्टीफङ्गल औषधि सुईबाट बिरामीमा प्रत्येक दिन आठ साता दिनुपर्छ । बीबीसी सेवाबाट