धनगढी पोष्ट बुधबार, २६ बैशाख २०८१   May 8, 2024
कैलालीका पाच पालिकामा सिकलसेल र थालसेमियाको स्क्रिनिङ परिक्षण

३ हजार ७ शय २६ जनाको  परिक्षणमा  एघार प्रतिशतमा सिकलसेल

स्वास्थ्य कार्यालय धनगढी कैलालीले भजनी नगरपालिका, जोशीपुर गाउपालिका, जानकी गाउपालिका, बर्दगोरिया गाउपालिका र घोडाघोडी नगरपालिकाका केही वडामा  गरेको परिक्षणमा एक प्रतिशतमा  सिकलसेल रोग र १० प्रतिशतमा बाहक भेटिएको हो ।

३ हजार ७ शय २६ जनाको  परिक्षणमा  एघार प्रतिशतमा सिकलसेल

धनगढी । कैलालीका पाँच पालिकाहरुमा थारु समुदायमा गरिएको परिक्षणमा ११ प्रतिशतमा सिकलसेल एनिमिया पाइएको छ ।  स्वास्थ्य कार्यालय धनगढी कैलालीले भजनी नगरपालिका, जोशीपुर गाउपालिका, जानकी गाउपालिका, बर्दगोरिया गाउपालिका र घोडाघोडी नगरपालिकाका केही वडामा  गरेको परिक्षणमा एक प्रतिशतमा  सिकलसेल रोग र १० प्रतिशतमा बाहक भेटिएको हो ।

स्वास्थ्य कार्यालयका सिकलसेल फोकल पर्सन मीन बहादुर धामीका अनुसार पाच पालिकाका थारु समुदायका ३ हजार ७ शय २६ जनामा परिक्षण गरिएकोमा ३४ जनामा रोग र ३ शय ८२ जनामा बाहक भेटिएको हो । स्क्रिनिङ परिक्षणमा जोखिम भेटिएकाहरुको नमुना  सेती प्रादेशिक अस्पतालमा पुनः परिक्षण गरेर सिकलसेल एनिमियाको पुष्टि गरिएको हो ।

पालिकाहरुसँगको समन्वयमा स्वास्थ्य कार्यालयले गत पुसको २ गतेदेखि २२ सम्म सिकलसेल तथा थालसेमिया रोग निदान अन्तर्गत स्क्रिनिङ परिक्षण गरेको थियो ।

सिकलसेल फोकल पर्सन धामीका अनुसार भजनी नगरपालिकाका वडा नम्बर  २ र ८ मा थारु समुदायका एक हजार ६६ जनामा गरिएको परिक्षणमा ८ जनामा रोग र ८० जनामा  बाहक भेटिएको छ । जोशीपुर गाउपालिकाको वडा नम्बर ३ र ५ मा  ९ शय २५ जनामा गरिएको परिक्षणमा ७ जनामा सिकलसेल डिजिज र ७७ जनामा बाहक भेटिएको छ ।

त्यस्तैजानकी गाउपालिकाको वडा नम्बर ७ र ९ मा ७ शय ५८ जनामा गरिएको परिक्षणमा  ७ जनामा सिकलसेल डिजिज र ९० जनामा बाहक भेटिएको छ । बर्दगोरिया गाउपालिकाको वडा नम्बर २ र ६ मा ६ शय ५३ जनामा गरिएको परिक्षणमा ५ जनामा सिकलसेल डिजिज र ९४ जनामा  बाहक भेटिएको छ । घोडाघोडी नगरपालिकाको वडा नम्बर ३ र ७ मा ३ शय २४ जनामा गरिएको परिक्षणमा  ७ जनामा सिकलसेल डिजिज र ४१ जनामा बाहक भेटिएको छ ।

परिक्षणमा सहभागी सबै व्यक्तिहरुलाई परिचय पत्र दिइएको स्वास्थ्य कार्यालय धनगढीका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत आशुतोष श्रेष्ठले बताए ।  “परिक्षणमा सहभागी सबैलाई परिचयपत्र दिइएको छ ।”  वरिष्ठ जनस्वास्थ्य अधिकृत श्रेष्ठले भने “परिचय पत्र  परिक्षणमा केही नभेटिएकाहरुमा सिकलसेल छैन भन्ने प्रमाण  हुन्छ भने सिकलसेल डिजिज र बाहक देखिएकाहरुलाई औषधी उपचार गर्ने आधार बन्छ ।”  सिकलसेल परिक्षणको परिचय पत्र भएपछि सिकलसेल नदेखिएकाहरुले फेरि परिक्षण गरिरहन पनि पदैन ।

श्रेष्ठका अनुसार डिजिज देखिएकाहरुलाई परिचय पत्र लगेर सिकलसेलको परिक्षण हुने अस्पतालमा निःशुल्क थप परिक्षण र औषधी उपचार गर्ने व्यवस्था मिलाईको छ ।

सिकलसेल थारु समुदायमा बढी मात्रामा देखा परिरहेको  छ । सिकलसेल बंशाणुगत आधारमा हुने रोग हो । कैलाली र कन्चनपुर जिल्लाका थारु समुदायमा संख्या ठुलो छ ।

यसअघि जिल्ला स्वास्थ्य कार्यालय र पालिकाहरुले कैलालीमा २०७९।२०८० सम्म २२ हजार ३ शय १९ जनामा गरेको परिक्षणमा ६ शय ७७ जनामा सिकलसेल डिजिज र ३ हजार ७५ जनामा बाहक भेटिएको थियो ।

सिकलसेल फोकल पर्सन धामीका  अनुसार अहिलेसम्मका परिक्षणमा १६ प्रतिशत व्यक्तिमा सिकलसेलको कुनै न कुनै रुप रहेको भेटिएको छ ।