सुदुरपश्चिमका शहरी क्षेत्रमा बढ्दै आगलागीका घटना

पछिल्लो तीन महिनामा प्रदेशभरी भएका आगलागीका ३५ वटा घटना मध्ये कैलालीमा ११ र कन्चनपुरमा १० घटना रहेका छन् ।

धनगढी । शनिबार (असोज १२ गते) राती गौरीगंगा नगरपालिका वडा नम्बर १ चौमाला बजारस्थित हिमाल मोवाईल ग्यालरीमा विद्युतको तार सर्ट हुँदा आगलागी भयो । गौरिगंगा नगरपालिकाको आफनै वरुण यन्त्र (दमकल) नहुँदा सोही पसलका नजिक जोडिएका अन्य पाँच पसलमा पनि आगलागी फैलियो । ७ बजेर २० मिनेटमा शुरु भएको आगलागी नियन्त्रणका लागि घोडाघोडी र गोदावरी नगरपालिकाको दमकल प्रयोग गरि झण्डै एक घण्टा पछि नियन्त्रणमा लिईयो । 

गत बैशाख ११ गतेको भीषण आगलागीबाट कैलारी गाउँपालिका वडा नम्बर ७ बिपतपुरका २७ घर आगलागीबाट पुर्ण रुपमा क्षति भए । धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिकाको दमकलको प्रयोग गरि सो बस्तीमा भएको आगजनी नियन्त्रणमा लिईएको थियो । सो बस्तीमा रहेको ७१ घरपरिवार मध्य २७ घर पुर्ण रुपमा जलेका थिए भने ३४ घरमा आंशिक क्षति पुगेको थियो ।

गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिकाको आफनै वरुणयन्त्र नहुँदा एक घर तथा पसलबाट निम्तिएको आगलागीबाट अन्य घर पनि प्रभावित हुनु परेको हो । कैलारी गाउँपालिकाका २७ घर परिवार अहिलेसम्म घरबारविहिन छन् भने गौरीगंगामा व्यापार गरि बसेका व्यवसायीहरुले लाखौंको क्षति व्यहोर्नु परेको छ ।

गौरिगंगा नगरपालिकाका नगर उपप्रमुख भोज बहादुर बमले आफनै अग्नि नियन्त्रक स्रोत साधन नहुनु र अन्य पालिकाबाट ढिलो गरी वरुणयन्त्र पुग्दा ठुलो क्षति व्यहोर्नु परेको बताए ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार १३ वटा स्थानीय तह रहेको कैलालीमा हालसम्म पाँच स्थानीय तहहरुसंग आफनै वरुणयन्त्र रहेको छ । सो प्राधिकरणका अनुसार धनगढी उपमहानगरपालिका, गोदावरी र घोडाघोडी नगरपालिकासंग दुई/दुई तथा टीकापुर र लम्की चुहासंग एक/एक गरी आठ वटा वरुणयन्त्र रहेका छन् ।

पछिल्लो समय आगलागीका कारण कैलाली सहित सुदूरपश्चिम प्रदेशमा जनधनको क्षति हुने क्रम बढेको छ । चालु आर्थिक वर्षको तीन महिनामा प्रदेशभरी आगलागीका ३५ वटा घटना भएका छन् । सुदुश्चिममा भएका आगलागीका घटना मधय कैलालीमा ११ र कन्चनपुरमा १०  आगलागीमा भएका छन् । आगलागीका घटनामा एक जना घाईते भएका छन् भने ४३ घर परिवार प्रभावित भएका छन् । प्रदेशमा आगलागीबाटै एक करोड ४९ लाख ६७ हजार अनुमानित क्षति पुगेको राष्ट्रिय आपत्तकालिन कार्य सञ्चालन केन्द्रको तथ्यांकमा उल्खेख छ ।

आर्थिक वर्ष २०७८/७९ मा आगलागीका दुई सय नौ घटना हुँदा चार जनाको मृत्यु भएको थियो भने २२ जना घाईते भएका थिए । आगलागीबाट दुई सय आठ घरपरिवार प्रभावित हुँदा १० करोड २० लाख ७० हजार दुई सय रुपैयाँ अनुमानित क्षति पुगेको राष्ट्रिय आपत्तकालिन कार्य सञ्चालन केन्द्रले जनाएकोे छ ।

सुदूरपश्चिम प्रदेशका तराईका दुई जिल्लामा वर्षेनि आगलागीका घटना बढ्दै छन् । आर्थिक वर्ष २०७६/७७ देखि चालु आर्थिक वर्षको कार्तिक पहिलो सातासम्म  सुदुरपश्चिममका नौ जिल्ला मध्य तराईका जिल्ला कैलाली र कञ्चनपुरमा आगलागीका अत्याधिक घटना रहेका छन ।

आर्थिक वर्ष २०७६/७७ मा प्रदेशभरी आगलागीका ९९ घटना हुँदा कञ्चनपुरमा ४४ र कैलालीमा २७ वटा आगलागिका घटना भएको राष्ट्रिय आपत्तकालिन कार्यसञ्चालन केन्द्रको तथ्यांकमा उल्लेख छ ।

आर्थिक वर्ष २०७७/७८ मा प्रदेशभरी दुई सय २९ घटना हुँदा कैलालीमा ९९ सय र कञ्चनपुरमा ६८ वटा आगलागिका घटना रहेका छन् भने आर्थिक वर्ष २०७८/७९ मा प्रदेशभरी दुई सय नौ आगलागीका घटना हुँदा कैलालीमा ८५ र कञ्चनपुरमा ५७ आगलागीका घटना भएको तथ्यांक रहेको छ ।