सुदूरपश्चिममा पहिलो पटक अफ्रिकन स्वाईन फिभर रोग देखियो

४० लाख बढी क्षति , जिविकोपार्जनमा समस्या

धनगढी । पाँच सय रुपैयाँमा एउटा पोथी बंगुर किनेर २०७३ सालदेखि बंगुरपालन व्यवसायमा होमिएका थिए भजनी नगरपालिका वडा नम्बर ३ का स्थानीय जयबहादुर बुढा। उनले खोरमा पाठापाठी र माउ गरी चार सय ८२ वटा बंगुर पालन गरिरहेका थिए। आइतबार तीन सय १० पाठापाठी र ४२ माउ मरेपछि उनले स्थानीय तहको पशुपन्छी शाखामा जानकारी गराए। सो शाखाले पनि बंगुर मर्नुको कारण पत्ता लगाउन नसकेपछि पशुपन्छी तथा रोग अन्वेषण शाखा धनगढीमा नमुना पठायो। शाखाले शव परिक्षण गर्दा  अफ्रिकन स्वाईन फिभर रोग पुष्टि भयो।

बडीमालिका कृषि प्रवद्र्न केन्द्र प्रालिका सञ्चालक बुढा भन्छन–‘तीन सय ५२ माउ तथा पाठापाठी मरिसकेका छन। अझै ९२ वटा बंगुर मर्ने अवस्थामा पुगेका छन।’ उनले सुदूरपश्चिम प्रदेशमा पहिलो पटक देखा परेको सो रोगका कारण ४० लाख भन्दा बढी क्षति व्यहोर्नु परेको बताए। 

एक करोड बढी लगानीमा व्यवसायी गरेका बुढाको जिविकोपार्जनको आधार बनेको थियो बंगुर पालन। तर, बंगुरमा देखिएको महामारीपछि कसरी जिविकोपार्जन गर्ने चिन्तामा रहेका छन। उनले भने –‘रोगको महामारी नियन्त्रण गर्न कुनै खोप बनेको छैन। तीन महिनासम्म त कारोबार पनि गर्न पाउँदैन। कसरी जिविकोपार्जन गर्नेर ?’

२०७८ साल चैत १६ गते नेपालमा कागेश्वरी मनोहरा क्षेत्रको बंगुरमा पहिलो पटक अफ्रिकन स्वाईन फिभर रोग देखा परेको थियो। यो रोग अहिले नेपालका १० जिल्लामा फैलिईसकेको छ। यो रोगबाट देशभरी २५ हजारभन्दा बढी बंगुरको मृत्यु भईसकेको पशुपन्छी तथा अन्वेषण महाशाखा धनगढीले जनाएको छ।

बंगुरपालन तीव्र रूपमा व्यावसायिक बन्दै गरेको परिवेशमा, कुनै ठोस उपचार तथा खोपसमेत नभएको भाइरसजन्य रोग प्रमाणित भएपछि कृषक वा व्यवसायीहरूका लागि यो ठूलै टाउको दुखाइ बनेको छ । सुदूरपश्चिम प्रदेशमा ४४ हजार तीन सय आठ भन्दा बढी बंगुर बार्षिक उत्पादन हुने गरेको छ। बंगुर पालनकै कारण प्रदेशलाई मासुमा आत्मनिर्भर बनाउन सहज हुने भएपनि अहिले रोग देखापरेपछि असर परिरहेको पशुपन्छी तथा पशु अन्वेशषण धनगढीका प्रमुख नरेशप्रसाद जोशीले जानकारी दिए। उनले भने – ‘यो रोग देशभरका ४० वटा मुलुकमा देखा परिसकेको छ। सबैभन्दा बढी चिनमा बंगुरमा रोग देखिदा ३० खर्ब क्षति व्यहोरेको थियो। नेपालमा हालसम्म १४ सय बंगर यो रोगबाट मरेका छन। यसले गर्दा अढाई करोडको क्षति भएको छ।’

सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७७/७८ मा पाँच लाख ३६ हजार सात सय, एक लाख आठ सय १३, बाख्रा नौ लाख ८३ हजार सात सय ४१, कुखुरा २९ लाख ५३ हजार पाँच सय ११ र हाँस १४ हजार तीन सय ८४ उत्पादन हुने गरेको छ। 

प्रदेश मासु प्रति व्यक्ति प्रति वर्ष १४ किलोग्राम माग रहेकोमा प्रदेशमा हालसम्म १० दशमलब ३८ केजी उपलब्धता रहेको छ। प्रदेशमा ३१ दशमलब नौ हजार मेट्रिक टन उत्पादन रहेको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको तथ्यांक रहेको छ। मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७८/७९ को यकिन तथ्यांक छैन।


के हो अफ्रिकन स्वाइन फिभर ?

अफ्रिकन स्वाइन फिभर बंगुर÷सुँगुर र बँदेलहरुमा भाइरसबाट लाग्ने महामारी रोग हो। पूर्वि नेपालका विभिन्न जिल्लाहरुमा र हाल सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा समेत देखा परेको कुरा केन्द्रिय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले पुष्टि गरेको छ। नेपालभरी र यस प्रदेशका सबै जिल्ला उच्च जोखिममा छन।

‘अफ्रिकन स्वाइन फिभर’ का कारण कुनै खोरमा शतप्रतिशतसम्म बंगुरहरू बिनाकुनै लक्षण रातारात मर्न सक्छन। कुनै खोरमा भने ४० देखि ४२ डिग्री सेल्सियससम्मको उच्च ज्वरो आउने, झोक्राएर एकै ठाउँमा थुप्रने, शरीरमा रगत जमेका राता धब्बाहरू देखिने, कानका टुप्पाहरूमा रगत जमेर कालो–नीलो बन्ने र केही दिनभित्रै ठूलो संख्यामा बंगुरहरू मर्ने हुन्छ।

मन्द खालको भाइरस भएमा मृत्युदरमा केही कमी हुन्छ। तर अन्य रोगजस्तै बंगुरको हैजा, साल्मोनेलोसिस, स्वाइन इरिसेपिलस, पीआरआरएस, स्वाइन अजेस्कीलगायत र विषादीजन्य समस्यामा समेत समान खालका लक्षण देखिने हुँदा रोग यकिन गर्न प्रयोगशालामा परीक्षण अत्यावश्यक हुन्छ। यो रोगबाट संक्रमित भई बाँचेका बंगुरहरूले महिनौंसम्म रोगको वाहकका रूपमा काम गर्ने हुँदा सामान्यतया रोग प्रमाणित भएको फार्मवरिपरिको निश्चित क्षेत्रका बंगुरहरू सरकारले नै मार्ने र किसानहरूलाई क्षतिपूर्ति दिने अन्तर्राष्ट्रिय अभ्यास छ। यस्तो अभ्यास देशको कानुन अनुसार फरक हुन सक्छ। भारतले रोग प्रमाणित भएको एक किलोमिटरवरिपरिका बंगुर मार्ने नीति लिएको छ। तर, नेपालमा अहिलेसम्म यसको नियन्त्रणबारे कुनै ठोस नीति नलिईएको डाक्टर जोशी बताउँछन।

रोग सर्ने मुख्य कारण

संक्रमित बंगुर, सुँगुर र बँदेलबीच प्रत्यक्ष सम्पर्कबाट 

रोग पशुको र्याल, रगत, मलमुत्र, मासु वा यिनीहरुको लसपसमा आएका दानापानी लगायतका सामाग्री मार्फत

रोगी बंगुर, सुँगुर र बँदेलको ओसारपसार र किनवेच मार्फत

संक्रमित खोरमा गएको मानिसहरुको कपडा, जुत्ता, चप्पल आदिमार्फत

रोकथाम

बंगुर, सुंगुर र बँदेलको खोरमा मानिसहरुको अनावश्यक आवतजावत नगर्ने

होटल, रेष्टुरेण्टबाट फालिएका खानेकुरा बंगुर, सुँगुर र बँदेललाई राम्रोसंग पकाएर मात्र खाने

घरपालुवा बंगुर, सुँगुरलाई जंगली बँदेलसंग सम्पर्क हुन नदिने

रोगी बंगुर, सुँुगुरलाई जंगली बँदेलको मासु, सुकुटी तथा वातावरणमा भाईरस लामो समयसम्म बाँच्ने भएकोले मरेका बँगुर, सुँगुर र बँदेललाई गहिरो खाडल खनी गाड्ने

अन्य बथानबाट ल्याईएका बँगुर, सुँगुर र बँदेललाई २१ दिन क्वारेन्टाईनमा राखेपछि मात्र आफ्नो बथानमा नमिसाउने