धनगढी पोष्ट
सोमबार, ०१ असार २०७७ मा प्रकाशित
धनगढी
नीति तथा कार्यक्रममा जलस्रोतको बहुउद्देश्यीय उपयोग गर्ने नीति लिएको प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि प्रस्तुत गरेको बजेटमा जलविद्युतका लागि झण्डै ६ करोड बजेट बिनियोजन गरेको छ ।
प्रदेश सरकारले नौगाड र सुर्नया गाड जलविद्युत आयोजनाको बिस्तृत परियोजना प्रतिवेदन तयार गरी निर्माण कार्य प्रारम्भ गर्न पाँच करोड ८० लाख बजेट बिनियोजन गरेको छ । दार्चुलामा रहेको नौगाड र बैतडीमा रहेको सुर्नया गाडमा आयोजना निर्माण प्रारम्भ गर्नुका साथै आगमी आर्थिक बर्षमा थप दुई आयोजनाको बिस्तृत सम्भाब्यता अध्ययन र एक आयोजनाको पूर्व सम्भाब्यता अध्ययन गरिने गरी बजेटमा कार्यक्रम राखिएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत यी आयोजनाहरुको काम अगाडि बढाइने छ । ‘प्रदेशका गाउँ उज्यालो बनाउँ’ कार्यक्रम अन्तर्गत सौर्य उर्जाका तीन आयोजना सम्पन्न गर्न ७ करोड बजेट राखिएको छ । बैतडीको बिनाबित्थी, डोटीको गराजु र बझाङ छयालामा सौर्य उर्जा आयोजना कार्यान्वयन गरी १ सय किलोवाट विद्युत उत्पादन गरिने कार्यक्रम राखिएको छ ।
सरकारले सौर्य उर्जाले कार्बन उत्सर्जन घट्ने र स्वच्छ उर्जामा नागरिकको पहुँचमा बृद्धि हुने अपेक्षा राखेको छ ।