धनगढी पोष्ट आइतबार, २२ भदौ २०८३   September 6, 2026

होटल संघ नेपालको सुदुरपश्चिमको अध्यक्षमा  प्रकाश चन्द्र भट्ट निर्वाचित

होटल संघ नेपालको सुदुरपश्चिमको अध्यक्षमा  प्रकाश चन्द्र भट्ट निर्वाचित

धनगढी । होटल संघ नेपाल (हान) को पहिलो प्रदेश साधारणसभा प्रकाश चन्द्र भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै धनगढीमा सम्पन्न भएको छ ।

सभाले होटल रुबसका संचालक भट्टको अध्यक्षतामा निर्विरोध रुपमा नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको निवर्चमान अध्यक्ष दिनेशराज भण्डारी, वरिष्ठ उपाध्यक्ष जगदिशचन्द्र भट्ट।  उपाध्यक्ष प्रमानन्द भण्डारी रमहासचिव थर्क बहादुर शाह चयन भएका छन् ।

कार्यसमितिको सदस्यमा  पदम बिक्रम सिंह, नगेन्द्र खड्का, भुवन सिंह भण्डारी, चन्द्रप्रकाश ओली, बसन्ता भण्डारी, शारदा शाह, पशुपति कुवर,नवराज जोशी, ज्ञानेन्द्र गुप्ता, दिपेश शाह निर्वाचित भएका छन् ।

सभाको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले होटल व्यवसायीहरूको माग स्वरोजगार र उत्पादनसँग जोडिएको विषय भएकाले प्रदेश सरकारले यसलाई गम्भीरताका साथ लिएर आवश्यक सहयोग गर्ने बताए ।

मुख्यमन्त्री भट्टले होटल व्यवसायले पर्यटन प्रवद्र्धन, अर्थतन्त्र सुदृढीकरण तथा रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए । होटल तथा पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्दै प्रदेश सरकारले आवश्यक सहजीकरण र सहयोग गर्ने उनले बताए ।

निजी क्षेत्रको लगानीको सुरक्षा, व्यवसाय सञ्चालनमा आवश्यक सहजीकरण लगायतका विषयमा प्रदेश सरकार सकारात्मक रहेको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले सरकार र निजी क्षेत्रबीचको सम्बन्ध माछा र पानीको जस्तै हुनुपर्ने बताए । सरकार र निजी क्षेत्र एकअर्काका परिपूरक भएकाले सहकार्य र साझेदारीबाट मात्रै प्रदेशको आर्थिक विकासलाई गति दिन सकिने उनले स्पष्ट पारे ।