धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

गेटा मेडिकल कलेजको निर्माण कार्यमा तिब्रता

गेटा मेडिकल कलेजको  निर्माण कार्यमा तिब्रता

धनगढी

   अनसनरत डाक्टर गोबिन्द केसी संगको सम्झौता संगै कैलालीको गेटामा निर्माणाधिन गेटा मेडिकल कलेजको निर्माणले तिब्रता पाएको    छ ।

असोज २५ गते २७ दिनदेखि आमरण अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसी र सरकारबीच भएको ८ बुँदे सहमती संगै गेटा मेडिकल कलेजको निर्माणले तिब्रता पाएको हो । सहमतिमा अगामी २०८० साल भित्र एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन हुने उल्लेख छ ।

   सरकार र डाक्टर गोबिन्द केसी बिच भएको सम्झौतामा गेटामा २०८० सालको फागुन १० भित्र एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।

  सरकारी मेडिकल कलेज तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी भएको पहिलो बुँदाको मा गेटा मेडिकल कलेजको कलेज भवन निर्माण सम्पन्न भईसकेको, अस्पताल भवन, छात्रबास भवन, कर्मचारी भवन लगायतका भौतिक पूर्वाधारको ८० प्रतिशत निर्माणको काम सकिएको उल्लेख छ ।

 मन्त्रीपरिषद्मा रहेको एकिकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान विद्येयकलाई संघिय संसदको हिउँदे अधिवेशनमा पेश गरी ऐन जारी भएपछि पूर्वाधार र जनशिक्त पूरा गरेर राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ बमोजिम निर्धारित समयावधी २०८० को फागुन १० भित्र एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सहमतिमा उल्लेख छ ।

   सरकारले २०६६ मा कलेज स्थापनाको घोषणा गरेकोमा प्रक्रियागत ढिलाइका कारण निर्माण कार्य भने २०७३ सालदेखि मात्रै सुरु गरिएको थियो । सरकारले तत्कालीन समयमा गेटालाई दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा अगाडी बढाउन विद्येयकको मस्यौदा बनाएको थियो । तर संविधानसभा विघटन भएपछि काम अगाडी बढ्न सकेको   थिएन ।

   गेटामा  पौने चार अर्ब खर्च गरेर तत्काल मेडिकल कलेज सञ्चालन गर्न सकिने भौतिक पूर्वाधार बनेको छ । कैलालीको गेटा मेडिकल कलेज स्थापनाको प्रक्रिया अघि बढेको ११ वर्षमा  भौतिक पूर्वाधार निर्माणमा तीन अर्ब ७८ करोड खर्च भइसकेको छ ।

 कलेजको पूर्वाधार विकास निर्माण समितिका कार्यकारी निर्देशक भीमबहादुर साउदले भौतिक रुपमा लगभग अन्तिम चरणमा रहेपनि सरकारले चासो नदिदा संचालनमा  ढिलाई भएको बताउने गरेका थिए ।

कलेजका पूर्वाधारको समग्र प्रगति करिब ७५ प्रतिशत सम्पन्न भइसकेको उनले बताए । केही भवनको फिनिसिङको काम भइरहेको छ । चालू आर्थिक वर्षको अन्त्यसम्ममा संरचना तयार हुने उनले बताए । ०७१ मा शिलान्यास भएको प्रशासनिक भवनको काम ९० प्रतिशत सकिएकोे छ ।

 साढे पाँचतले अस्पताल भवनको ८० प्रतिशत काम सम्पन्न भएको छ । त्यस्तै, चिकित्सक, नर्सिङ र कर्मचारी आवासगृहका आठवटा भवनको काम पनि भइरहेको छ । ०६६ मा तत्कालीन सरकारले गेटा मेडिकल कलेज निर्माणको घोषणा गर्दै बजेट विनियोजन गरेको थियो । तर, वातावरणीय प्रभाव मूल्यांकन अध्ययन र रूख कटान आदेशमा ढिलाइ हुँदा ०७३ पछि मात्रै पूर्वाधार निर्माणले तिब्रता पाएको थियो ।

 गेटामा रहेको ५१ दशमलव आठ हेक्टर क्षेत्रमा स्थापना हुने मेडिकल कलेजमा ६ सय शैयाको अस्पताल सञ्चालन गर्ने सरकारको लक्ष्य छ । समितिले सुरुमा एक सय ५० शैयाको अस्पताल सञ्चालन गर्ने जनाएको छ ।