धनगढी पोष्ट
बिहिबार, २० फागुन २०७७ मा प्रकाशित
धनगढी
धनगढीमा जारी चण्डिका ग्रुप एलपिएल–५ अन्तरगत बिहीबार सम्पन्न दुई वटा खेलमा आयोजक लिटल फ्लावर र स्टेपिङ स्टोन स्कुल विजयी भएका छन् ।
एलपिएलको जारी सिजनमा लिटल फ्लावर र स्टेपिङ स्टोनको यो पहिलो जित हो । यस अघि दुवै टीमले एक–एक खेल गुमाएका थिए ।
बिहीबार सम्पन्न भएको पहिलो खेलमा शारदा स्कुललाई ९ विकेटले पराजित गर्दै लिट फ्लावरले पहिलो जित निकालेको हो । संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा भएको खेलमा शारदाले दिएको ९४ रनको लक्ष्य लिटलले ९ ओभरमा १ मात्रै गुमाएर पुरा गरेको हो ।
लिटलको जितमा सुवाश ऐरले विस्फोटक ब्याटिङ गर्दै १६ बलमा ५२ रनको अर्धशतकीय इनिङ्स खेले । गत सिजनमा प्लेयर अफ दी म्याच बनेका सुवाश यस प्रतियोगिताकै सर्वाधिक चाँडो अर्धशतक बनाउने खेलाडी बनेका छन् । उनले ६ छक्का र तीन चौका प्रहार गरे । यस्तै नरेन भट्टले अविजित ३१ रन जोड्दा अनुराग सिंहले अविजित ६ रन बनाए । शारदाका लक्की कडायतले १ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको शारदाले २० ओभरमा ७ विकेट गुमाएर ९३ रन बनाएको थियो । उसका सचिन साउदले अविजित ३१ रन जोडे । युवराज थापाले १४ रन बनाए । लिटलका मनोज चनारा, सुवाश ऐर र सचिन भट्टले २÷२ विकेट लिए ।
बिहीबार नै सम्पन्न दोस्रो खेलमा धनगढी नमुनालाई ९ विकेटले पराजित गर्दै स्टेपीङ स्टोनले पहिलो जित दर्ता गरेको छ । पहिले ब्याटिङ गरेको धनगढी नमुनाले ११ ओभरमा अलआउट हुँदै ४८ रन बनाएको थियो ।
उसका लागि आयुस खड्काले सर्वाधिक १९ रन बनाए । धनगढीलाई सस्तैमा समेट्न स्टेपीङका भुपेश जोशीले १० रन खर्चिएर ६ विकेट लिए । सुभम जैशीले २ विकेट लिए । धनगढीले दिएको ४९ रनको लक्ष्य स्टेपीङले ५ ओभर ३ बलमा १ विकेट गुमाएर भेट्टायो । स्टेपीङका अविशेक कुँवरले अविजित ३२ रन जोडे । धनगढीका अनुप कुँवरले १ विकेट लिए । खेलका म्यान अफ द म्याच स्टेपीङका भुपेश जोशी भए ।
लगातार दोस्रो हारसंगै धनगढी नमुना प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । विजेताले १ लाख २० हजार पाउने छन् ।
त्यस्तै उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् ।