यादव बस्नेत
मङ्गलबार, ०४ जेठ २०७८ मा प्रकाशित
कोपनहेगन । नेपाली कांग्रेसको बिदेश स्थितसंगठन नेपाली जन–सम्पर्क समिति, डेनमार्कले कोभिड रोगको उपचारका लागि सोमबारबाट रकम संकलन गर्न शुरु गरेको छ
कोभिड रोग लागेर उपचार गरिरहेका बिरामीहरुका लागि अक्सिजन लगायातका स्वास्थ्य सामाग्री किन्नका लागि डेनमार्कमा बसेका नेपाली समुदायबिच सोमबारबाट रकम संकलन थालेको हो । उठेको पैसा जति सक्दो चाँडो नेपाल पठाउने नेपाली जनसम्पर्क समिति, डेनमार्कका सभापति बिरेन्द्र सिंह कार्कीले बताए । करिब ५ लाख नेपाली रुपैयाँ उठाउने लक्ष्य रहेको बताउदै कार्कीले पार्टीका शुभचिन्तकहरुलाई यो कोभिड महामारीमा आर्थिक सहयोग गर्न अनुरोध गरे ।
नेपाली जनसम्पर्क समिति, डेनमार्कको आइतबार बसेको सल्लाहकार सहितको कार्यसमिति बैठकले एक साता भित्रमा रकम संकलन गरी पठाउने निर्णय गरेको थियो। सोमबारबाट सामाजिक संजालमा समूह बनाएर रकम संकलन सुरु गरिएको छ ।
नेपाली कांग्रेसको केन्द्रिय कोभिड–१९ अनुगमन समिति र विश्वभरका नेपाली जन–सम्पर्क समितिहरु बिच भएको भर्चुअल बैठकले रकम संकलन गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार नेपाली जनसम्पर्क समितिले डेनमार्क स्थित संगठनका शुभचिन्तकहरुबाट रकम संकलन कार्य सुरु गरेको हो ।
संकलित रकम पार्टीको कोभिड–१९ उपचार प्रयोजनको लागि खोलिएको खातामा जम्मा गर्ने र खर्च–विवरणको अभिलेख राख्ने नेपाली कांग्रेस पार्टीले जनाएको छ ।