धनगढी पोष्ट
सोमबार, ०८ कार्तिक २०७८ मा प्रकाशित
धनगढी । असोज अन्तिम देखी कार्तिक पहिलो साता सम्म भएको वेमौसमि बर्षाका कारण आएको बाढी पहिरोमा परेर देशभर १ सय १७ जनाको मृत्यु भएको छ भने, ३२ जना वेपक्ता भएका छन् । बङ्गालको खाडी र पश्चिमी वायुको संयुक्त प्रभावका कारण परेको भारी वर्षाले निम्त्याएको बाढी, पहिरो र डुबानबाट देशका २६ जिल्ला प्रभावित भएका थिए ।
सात प्रदशेमध्ये सबैभन्दा बढी प्रदेश नम्बर १ ले मानवीय क्षति बेहोरेको छ, भने त्यसपछि सुदूरपश्चिम प्रदेशमा मानवीय क्षति भएको छ । यसपालि नेपालमा पानी पार्ने प्रणालीको संयुक्त प्रभाव असोज ३१ बाट सुरु भएको थियो । सो प्रणाली कात्तिक ३ सम्म रह्यो । त्यसको छिट्फुट प्रभाव अहिले पनि कायमै रहँदा मौसम बदलीकै क्रममा छ ।
पहिलो दुई दिन सुदूरपश्चिम प्रदेशमा असर गरेको थियो भने त्यसको अर्को दुई दिन प्रदेश नं १ लाई प्रभावित बनाएको थियो । प्रदेश नम्बर २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा भने न्यून क्षति भएको छ । ती प्रदेशका एकाध जिल्लाले मात्रै क्षति बेहोर्नुप¥यो ।
गृह मन्त्रालयबाट आइतबार प्राप्त पछिल्लो तथ्याङ्क अनुसार बाढी पहिरोमा परेर देशभर १ सय १७ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार बाढी पहिरोमा परेर अझै ३२ जना वेपत्ता छन् । मृत्यु हुनेमा ५७ पुरुष, ३५ महिला र २५ बालबालिका छन् । बेपत्ता हुनेमा १३ पुरुष, सात महिला र १२ बालबालिका छन् ।
कूल ४४ जना घाइते भएका र उनीहरूमध्ये कतिपय उपचारपछि घर फर्किएका छन् भने केहीको उपचार जारी छ । कूल ३० घर आंशिक र ११८ घर पूर्ण क्षति भएको गृह मन्त्रालयले जनाएको छ। जलवायु परिवर्तन विज्ञ डा ङमीन्द्र दाहाल बेमौसममा यति ठूलो वर्षा हुनु जलवायु परिवर्तनको असर भएको बताउँछन् ।
प्राप्त विवरणअनुसार मुलुकका विभिन्न ठूला आठ राष्ट्रिय राजमार्गमा क्षति पु¥याएकामा अझै ६ वटा सञ्चालनमा आउन सकिरहेको छैन । सडकको भौतिक पूर्वाधारमा मात्रै एक अर्ब पाँच करोड क्षति भएको प्रारम्भिक विवरण छ ।
धानबाली तथा अन्य भौतिक क्षतिको विषयमा विवरण सङ्कलन जारी रहेको गृह मन्त्रालयले जनाएको छ । सरकारले यसअघि नै घाइतेको निःशुल्क उपचार गर्ने र मानवीय क्षति बेहोरेका परिवारलाई राहत दिने घोषणा गरिसकेको छ ।