धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका प्राध्यापकले थाले रिले अनसन

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका प्राध्यापकले थाले रिले अनसन

धनगढी । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका प्राध्यापकले रिले अनसन सुरु गरेका छन् । विश्वविद्यालय प्राध्यापक संघमा आवद्ध प्राध्यापकहरू विश्वविद्यालयमा देखिएको विद्यमान गतिरोध अन्त्य गरी समायोजन प्रकृया र प्राध्यापकको वृति विकाससँग सम्बन्धी सम्पूर्ण प्रक्रिया कार्यान्वयनको माग गर्दै रिले अनसनमा बसेका हुन् ।

सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघका सभापति उत्तम थापाले नवौं सिनेट बैठकमा गरिएका निर्णयहरू प्राध्यापक कर्मचारीविरुद्ध भएकाले आन्दोलनमा उत्रिनु परेको बताए । सिनेट बैठकका एजेण्डामा मेरो सहमति छैन, उनले भने, ‘सहमतिविरुद्धमा निर्णय गरिएका छन् ।

एजेण्डा अध्ययन गर्ने मौका नै नदिएर कार्यकारीले गुमराहमा राखेको उनको आरोप छ । सिनेटका निर्णय अपारदर्शी भएको पनि उनले आरोप लगाए। प्राध्यापक संघका महासचिव खेमराज सुवेदीले पदाधिकारीले अन्याय गरेको उल्लेख गर्दै त्यस विरुद्धमा आन्दोलित भएको बताए । भागबण्डाका लागि नभई अन्याय विरुद्धमा आन्दोलित भएको उनको भनाई छ ।

विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठकले सिनेटकै बैठकमा सहभागि भएर निर्णय सदरमा सहिछाप गरेका व्यक्ति नै आन्दोलनमा उत्रिनु लज्जास्पद भएको बताए ।

कसैलाई गुमराहमा राखेर निर्णय गरिएको होइन, उनले भने, ‘निर्णयमा सबैको सहभागिता थियो। सिनेट हुनु अघि सबै एजेण्डामा प्राध्यापक संघका सभापति उत्तम थापासहितको सहभागितामा छलफल भएर नै निर्णय पारित भएको उनको भनाई छ ।