धनगढी पोष्ट
बिहिबार, १८ असार २०७७ मा प्रकाशित
धनगढी
संसद अवरुद्ध पारिरहेका सुदुरपश्चिम प्रदेश सभाका प्रतिपिक्षी दलहरु ( नेपाली काँग्रेस र जनता समाजवादी पार्टी ) लाई मनाउन सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट आफै सक्रिय बनेका छन् ।
लामो समयदेखि अवरुद्ध सदन खुलाउन मुख्यमन्त्री भट्टले बिहीबार दोश्रो पटक प्रतिपक्षी दलहरुसँग वार्ता गरेका छन् । तर वार्ता निष्कर्षमा पुग्न सकेको छैन । प्रतिपक्षी दलहरुसँगको वार्ता सहमतिमा पुग्न नसकेपछि बिहीबार दिउँसो ३ बजे आव्हन गरिएको संसद सुचना टासेर स्थगित गरिएको छ ।
मुख्यमन्त्री भट्ट आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा र आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह सहित बिहीबार दिउँसो १ बजेदेखि प्रतिपक्षी दलहरुसँग वार्तामा बसेका थिए । बुधबार दिउँसो भएको बार्ताको निरन्तरताकै रुपमा बिहीवारको बैठक भएको हो ।
सरकारसँगको वार्तामा प्रतिपक्षका तर्फबाट नेपाली काँग्रेस संसदियदलका नेता रण बहादुर रावल, मुख्य सचेत गोबिन्द बोहरा र जनता समाजवादी पार्टीका साँसद कृष्ण चौधरी सहभागी रहेका थिए ।
करिब दुई घण्टा वार्ता भए पनि सहमतिमा पुग्न सकेन । सरकार र प्रतिपक्षी दलहरु ( नेपाली काँग्रेस र जनता समाजबादी पार्टी ) को बैठकमा छलफल राम्रोसँग भए पनि सहमति हुन नसकेको नेपाली काँग्रेस सँसदिय दलका प्रमुख सचेतक गोबिन्द बोहराले बताए ।
‘वहाँहरु (सरकारका प्रतिनिधि) ले मागहरु गम्भीरता पुर्वक लिएका छौं त भन्नु भयो ।’ प्रमुख सचेतक बोहराले भने – ‘तर सम्वोधन कसरी गछौ केही भन्नु भएन ।’ शुक्रबार फेरि बैठक बस्ने सहमति भएको उल्लेख गर्दै बोहराले भने – ‘वहाहरुले भोलिको बैठकमा माग सम्बोधन हुने गरि आउँछौं भन्नु भएको छ ।’
जनता समाजबादी पार्टीका प्रदेश सभा सदस्य कृष्ण चौधरीले सरकारँसग सकारात्मक रुपमा छलफल भए पनि सहमतिमा पुग्न नसकेको बताए ।
आन्तरिक मामिला एवक कानुन मन्त्री प्रकाश शाह प्रतिपक्षी दललाई समेत सहमतिमा ल्याएर अघि बढ्न वार्ता गरिएको बताउँछन् । ‘नीति तथा कार्यक्रम पनि सर्ब सहमितमा पास भएकोले बजेट पनि सहमतिमा नै पारित होस भन्नका लागि प्रतिपक्षलाई वार्तामा बोलाएका होै । अधिकाँश बिषयमा वहाहरु सहमत भएर जानु भएको छ ।’
प्रतिपक्षी दलहरुले उठाएका बिषय सरकारले शुरुदेखि नै व्यवस्थित रुपमा गर्दै आएका काम भएको उल्लेख गर्दै मन्त्री शाहले भने ‘तर वहाँहरु (प्रतिपक्षी दल) लाई थाहा रहेनछ, हामीले जानकारी गराएपछि सहमत हुनु भएको छ ।’
बजेट १ गते प्रस्तुत भएको, बजेट प्रस्तुतिपछि केही काुनुन समेत पारित भएको तर १० गते बजेटमाथि छलफल शुरु हुने बेलामा मात्र प्रतिपक्षले अवरोध गर्नुले पनि बजेटमाथिको छलफल अघि बढ्न नदिने उदेश्य हो कि भन्ने रहेको मन्त्री शाहले बताए ।
प्रतिपक्षी दलहरुले कोरोना जाँचको व्यवस्था गर्नु पर्ने, क्वारेन्टिनहरु व्यवस्थित बनाउनु पर्ने र सरकारले कोरोना रोकथाम र नियन्त्रणमा खर्च गरेको रकमको अध्ययन गर्न संसदिय समिति गठनको माग गदै संसद अवरुद्ध पारिरहेका छन् ।
प्रतिपक्षी दलहरुको अवरोधकै कारण सुदुरपश्चिम प्रदेश सभाको बैठक बिहीवार पाँचौे पटक स्थगित गरिएको हो । प्रदेश सभा सचिवालयका सचिव राम सिंह धामीले असार २१ गते बिहीवारका लागि संसद बैठक आव्हन गरिएको बताए ।