धनगढी पोष्ट
आइतबार, २१ असार २०७७ मा प्रकाशित
धनगढी,
असहमतिका बाबजुत पनि प्रदेश सरकारले आजको प्रदेशसभा बैठक भएको थियो । विरोधकै विच सदन चलाएको भन्दै थप रुष्ट भएका प्रमुख प्रतिपक्षी दल र जसपाले सरकार दुइ तिहाइको दम्भमा अघि बढेको बताएका छन् ।
प्रतिपक्षी दलहरुको अवरोधकै बीच सुदूरपश्चिम प्रदेश सभाको बैठक संचालन भएपछि दुई प्रतिपक्षी दलले पत्रकार सम्मेलन गर्दै विधी र प्रक्रियाको विपरित सरकारले दुई तिहाईको दम्भ देखाएर मुडभेड र अराजकता निम्त्याउन खोजेको आरोप लगाए ।
सरकारले आगामी आर्थिक बर्षको बजेट ल्याएपछि दुई कोरोना नियन्त्रण सम्बन्धी यथेष्ट काम गर्न नसकेको प्रतिपक्षी दलहरुले आरोप लगाउँदै आएका थिए । क्वारेन्टिनलाई व्यवस्थित बनाउनु पर्ने, कारोना नियन्त्रणका लागि खर्च गरिएको ९० करोड बजेटको विवरण सार्वजनिक गरिनु पर्ने, क्वारेन्टिनमा रहेका नागरिकलाई पिसिआर जाँचपछि मात्रै घर पठाउनु पर्ने लगायतका माग राख्दै प्रतिपक्षी दलले बजेट पछि लगातार प्रदेश सभा बैठक अवरुद्ध गरेका छन् ।
प्रतिपक्षी दल नेपाली कांग्रेस र जसपाले आज पनि बैठकमा असहमति जनाएका थिए । तर सभामुखले भने कुनै पनि सदस्यले असहमति नजनाएको भन्दै बैठक सुचारु गरेका थिए ।
प्रतिपक्षी दलले भने आफ्नो असहमति यथावत रहे पनि सरकारले दुई तिहाइको दम्भ देखाएर बैठक सुचारु गरेको जनाएको हो । प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रे संसदिय दलका नेता डाक्टर रणबहादुर रावलले प्रतिपक्षलाई वेवास्ता गर्दै सदन सुचारु गरेर सरकारले नै मुडभेटको स्थिती ल्याएको बताए । उनले प्रतिपक्षी दलले व्यक्ति भन्दा पनि प्रदेशवासीको हितका लागि माग राख्दै आएको भए पनि सरकारले वेवास्ता गरेर जनतालाई अपमान गरेको आरोप समेत लगाए ।
‘हामीले आफ्नो व्यक्तिगत स्वार्थ पूति गर्न नभई प्रदेशवासीलाई कोरोना कहरबाट बचाउन ठोस योजना ल्याउ भनेका हौं’ रावलले भने– ‘सरकारले हाम्रो कुरै सुनेन, सरकारको यो कदमले जनता प्रति गैर जिम्मेवार रहेको प्रष्ट भएको छ ।’
जसपा साँसद दलका नेता कृष्ण चौधरीले प्रतिपक्षीलाई नटेरेर सरकारले कम्युनिष्ट शैलि देखाएको बताए । ‘विधी र प्रक्रिया विर्सेर दुई तिहाईको दम्भमा सरकार अगाडी बढेको छ’ उनले भने– ‘यो लोकतन्त्र विपरितको कार्य हो, सदनमा कम्युनिष्ट शासन लाग्न खोजिदै छ ।’
बजेट भाषण पछि लगातार सदन अवरुद्ध गर्दै आएका दुई प्रतिपक्षले आजको बैठकमा पनि आ–आफ्नो ठाउँमा उठेर नाराबाजी गरेका थिए । उनीहरुले लगातार नाराबाजी गरे पनि नाराबाजीकै बीच सभामुख अर्जुन बहादुर थापाले प्रदेश सभाको बैठक अगाडी बढाएका हुन् ।
सोही क्रममा आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले बजेट माथिको छलफल शुरु होस् भन्ने प्रस्ताब बैठकमा प्रस्तुत गरेका थिए । सो प्रस्ताब बहुमतले पारित गरेसंगै आजको प्रदेश सभा बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालय सचिब रामसिंह धामीले जानकारी दिए ।
अर्को बैठक सोमबार दिउसो ३ बजे बजे तोकिएको छ ।