धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

प्रचार–प्रसारमा व्यस्त प्रेम गित–३ निर्माता टोली

प्रचार–प्रसारमा व्यस्त प्रेम गित–३ निर्माता टोली

धनगढी । नेपाली र हिन्दी भाषामा एकै साथ प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘प्रेम गित–३’ को टोली बिहिबार धनगढी पुगेको छ ।

आशुसेन फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको प्रदर्शनी मिति नजिकिएसंगै प्रचार–प्रसारका लागि टोली कैलालीको धनगढीमा पुगेको हो । असोज ७ गतेदेखि प्रदर्शनमा आउन लागेको सो चलचित्रका टोलीले भारतका विभिन्न स्थानमा प्रचार–प्रसार गरेको छ ।

बिहीबार टोलीले धनगढीस्थित सुदूरपश्चिमाञ्चल कलेजमा चलचित्रको प्रवद्र्धनका लागि कार्यक्रम गरेको थियो । सर्बाधिक चर्चामा रहेको चलचित्रका टोलीले धनगढीस्थित एसटिएस सिनेमा हलमा फिल्मको झलक प्रदर्शनसंगै पत्रकार भेटघाट गरेको छ । चलचित्र ‘प्रेम गीत ३’ले भारतमा प्रदर्शनका लागि तयारी थालेको हो । सो चलचित्र भारतका विभिन्न ठाउँमा एकसाथ प्रदर्शन हुन लागेको निर्माता निर्देशक सन्तोष सेनले बताए ।

‘एकसाथ भारतका धेरै ठाउँमा नेपाली चलचित्र प्रदर्शन हुनु नेपाली चलचित्र उद्योगका लागि ठूलो अवसर हो’, उनले भने । यसले नेपाली चलचित्रको बजार फराकिलो बनाउने उनले विश्वास व्यक्त गरे । उनले यसबाट नेपाली कला, संस्कृति र मौलिकताको प्रवद्र्धन पनि हुने बताए ।

दशैंको समयमा प्रदर्शन हुन लागेको सिनेमाले ५० बर्षे नेपाली सिनेमाको इतिहासमा  अन्तर्राष्ट्रीय सिनेमा बजारमा पहिलोपटक ढोका खोल्ने उनले बताए । नेपालका विभिन्न भागमा पुगि छाँयाकन गरिएको सो चलचित्रको निर्माणका क्रममा आठ करोड बढी रकम खर्च भएको निर्माण कम्पनिले जानकारी दिएको छ । चलचित्र हेर्नका लागि अहिले नेपाल र भारतका विभिन्न स्थानका मानिस पर्खाइमा छन । प्रदर्शनीमा आएपश्चात यसले आम दर्शकमाझ कस्तो प्रभाव पार्छ त्यसैले चलचित्रको सफलता र असफलता तय गर्छ उनले भने ।

चलचित्रमा प्रदिप खड्कासँगै क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, अनुभव रेग्मी, योगीशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय रहेको छ । 
सांगीतिक प्रेम कथामा निर्माण भएको ‘प्रेम गीत ३’, ‘प्रेम गीत’ चलचित्रको निरन्तर सिरिज हो । सेनसँगै छेतेन गुरुङ पनि सो चलचित्रका निर्देशक छन ।