धनगढी पोष्ट
शुक्रबार, २० असार २०८२ मा प्रकाशित
धनगढी । धनगढीमा जारी दोस्रो सन्ध्याकालीन चैतन्य सांस्कृतिक मिनी मेला २०८२ को अवधि १५ दिन थपिएको छ । यही असार ५ गतेदेखि २१ गतेसम्म सञ्चालित चैतन्य सांस्कृतिक मिनी मेलाको अवधि १५ दिन थप गरी साउन ४ गतेसम्मलाई थपिएको हो ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा सञ्चालन भइरहेको चैतन्य सांस्कृतिक मिनी मेलामा दर्शकहरूको सहभागिता बढेको र माग अनुसार मिनी मेलाको अवधि १५ दिन थप गरिएको आयोजक द टुविन्स अ कम्पिलिट इन्स्टिच्युट अफ डान्स धनगढीका अध्यक्ष केशव बलायरले जानकारी दिए ।

स्थानीय कलाकारहरूलाई मञ्च दिने उद्देश्यले मिनी मेलाको आयोजना गरिएको उनले बताए । मेलामा राष्ट्रिय कलाकारदेखि स्थानीय कलाकारहरूको प्रस्तुति रहँदै आएको छ ।
मेलामा राष्ट्रिय कलाकार आएको दिन टिकट र बाँकी दिन निःशुल्क रहेको आयोजकले जनाएको छ । विद्यार्थीको लागि ५० रुपैयाँ र अन्य सर्वसाधारणका लागि एक सय रुपैयाँ टिकट तोकिएको छ। मेला साँझ ५ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुँदै आएको छ ।
