धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

बालबालिकाद्धारा चित्रकलामार्फत सुरक्षित घर

धनगढी । भजनी नगरपालिका वडा नम्बर ७ चर्राकी कक्षा ८ मा पढ्दै आएकी करुणा चौधरीले जहिले डुवान तथा बाढीको त्रास भोग्दै र देख्दै आएकी छिन । 

वर्षातको समयमा आफनो घरलाई कसरी सुरक्षित बनाउने भन्ने उनले चित्रकलामार्फत प्रस्तुत गरिन । शुक्रबार हेविटाट फर हुमानिटी नेपालको २५ औं वार्षिकोत्सवको अवसरमा गणेशमान आधारभुत विद्यालयमा भएको चित्रकला प्रतियोगितामा उनले घरलाई सुरक्षित राख्न उच्च बनाउनुपर्ने चित्रकलामार्फत व्यक्त गरिन । 

प्रतियोगितामा तेस्रो बनेकी करुणाले भनिन –‘हरेक वर्षातमा घरभित्र पानी पस्छ । त्यसले अन्नबाली, कपडा, पुस्तक लगायतमा क्षति पुग्छ । बाढी तथा डुवानबाट बच्न उच्च घर आवश्यक हुन्छ भन्ने मैले चित्रकलामार्फत व्यक्त गरेकी हुँ ।’

कक्षा ७ मा अध्ययनरत विशाल डंगौराले घरमा खानेपानीको समस्यालाई चित्रकलामार्फत व्यक्त गरे । घर उच्च स्थानमा रहेपनि खानेपानी धारा उच्च स्थानमा नहुँदा वर्षातमा खानेपानीको समस्यालाई चित्रकलामार्फत व्यक्त गरे । उनले भने –‘खानेपानीको समस्या पनि झेल्नुपर्छ । त्यसैले खानेपानीको पनि उचित व्यवस्था हुनुपर्छ भनी चित्रकलामा देखाउन खोजेको हु ।’ उनी प्रतियोगितामा प्रथम भएका थिए ।

हेविटाटले नेपालमा २५ वर्षदेखि काम गर्दै आएको अवसरमा विद्यालयमा बालबालिका चित्रकला प्रतियोगिता आयोजना गरेको परियोजना अधिकृत राममणि चौधरीले बताए । उनले बालबालिकालाई सुरक्षित घरबारे शिक्षा दिन प्रतियोगिताको आयोजना गरिएको बताए । प्रतियोगितामा कक्षा ६, ७ र ८ का ५० जना छात्रछात्राहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा सहभागि प्रथम, द्धितिय र तृतियसंगै सान्तवना पुरस्कार वितरण गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करणसिंह डंगौराको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष अमरबहादुर कठरिया प्रमुख अतिथि रहेका थिए । 

हेबिटेट नेपालले भुमिहीन, सुकुम्बासी, दलित लगायत सामाजिक आर्थिक रुपमा पछाडी पारिएका बर्गको सुरक्षित आवास लागि लागि सरकारसगको सहकार्यका काम गर्दै आइरहेको छ ।