धनगढी पोष्ट
सोमबार, १० असोज २०७९ मा प्रकाशित
धनगढी । कैलालीको धनगढीमा सुरु भएको सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको दोस्रो दिन भएका खेलमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेश विजयी भएका छन् । जितसगै कर्णाली प्रदेश र लुम्बिनी प्रदेश प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेका छन् । शनिबार पहिलो दिनको उद्घाटन खेल रात परेपछि रोकिएकोमा आईतबार खेलाईएको खेलमा कर्णाली प्रदेश विजयी भएको छ ।
लगातारको बर्षाले धनगढी रंगशाला हिलाम्मे भएपछि मैदान परिर्वतन गर्दै फाप्ला मैदानमा भएको खेलमा कर्णाली प्रदेशले सुदुरपश्चिम प्रदेश रातोलाई सडनडेथमा ५–४ ले हरायो । कर्णाली प्रदेशले फाईनल प्रवेशका लागि अब प्रदेश नम्बर १ र बागमति प्रदेश बीचको खेलको विजेतासँग खेल्नेछ ।
दोस्रो खेलमा लुम्बिनी प्रदेशले मधेश प्रदेशलाई हराएको छ । लुम्बिनीले मधेश प्रदेशलाई ४–२ गोल अन्तरले हराएको हो । जितसँगै लुम्बिनी प्रदेश पनि सेमिफाईनल पुगेको छ । फाईनल पुग्नका लागि लुम्बिनी प्रदेशले गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेश निलो बीच हुने खेलको विजेतासँग खेल्नेछ । प्रतियोगिता अन्तर्गत भोली सोमबार गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेश निलो बीच खेल हुनेछ ।
पिएफए स्पोटर््स क्लब अत्तरियाको आयोजनामा भईरहेको प्रतियोगिता असोज १५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले नगद पाँच लाख, सहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन भने उप विजेताले नगद तीन लाख सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगीतामा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुले जनही १० हजार नगद पाउँदा उत्कृष्ट खेलाडीले नगद २० हजार प्राप्त गर्नेछ ।