धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024
पीसीआर परीक्षणको बिश्वसनियतामा प्रश्न

परीक्षण गरिए जति सबैको पीसीआर कसरी पोजिटिभ ?

काठमाडौँ

  त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गत बुधबार कोभिड१९ पहिचानका लागि १ सय १४ नमुनाको पीसीआर परीक्षण गर्दा सबैको पोजिटिभ नतिजा आयो । २४ घण्टामा सबैभन्दा बढी ७ सय ४० जनामा संक्रमण पुष्टि भएको दिन गत शुक्रबार धनगढीको सेती प्रादेशिक अस्पताल, पशुपक्षी अन्वेषण प्रयोगशालामा गरिएको ६५ नमुनाको पीसीआर परीक्षणमा सबै नतिजा पोजिटिभ देखिएको थियो ।

त्यही दिन ललितपुरको पाटन अस्पतालमा गरिएको २ सय ७ नमुना र त्रिवि शिक्षण अस्पतालमा गरिएको ९६ नमुना परीक्षणमा सबै पोजिटिभ आएको थियो ।

 विज्ञहरूका अनुसार हालसम्म मुलुकमा जति परीक्षण ग¥यो, सबैमा पोजिटिभ आउने स्थिति छैन । तर प्रयोगशालामा सबै नमुना पोजिटिभ नतिजा आउँदा स्वास्थ्य मन्त्रालय र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले खासै ध्यान दिएनन् । यस्तो प्राविधिक त्रुटि बारे छानबिन पनि भएन ।

वरिष्ठ जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीका अनुसार हालसम्मका परीक्षणमा अधिकतम १५ प्रतिशतसम्म मात्र पोजिटिभ आउने गरेको देखिएको छ । प्रयोगशालामा राखिएको किट सही तरिकाले प्रयोग नभएर सबै पोजिटिभ आएको हुन सक्ने स्वास्थ्य मन्त्रालयको उच्च स्रोतले जनाएको छ । त्यस दिन संक्रमण नभएका व्यक्तिमा पोजिटिभ देखिएको हुन सक्छ । तर यो गम्भीर गल्तीलाई ढाकछोप गर्ने प्रयास भइरहेको  छ ।

 मन्त्रालय स्रोतका अनुसार इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालगायत प्रयोगशालालाई यसबारे खोजबिन गर्न निर्देशन दिएको छ । इपिडिमियोलजीले पीसीआरको रिएजेन्टसमेत जाँच गर्न भनेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक प्राविधिकले भने पीसीआर परीक्षणको विश्वसनीयता संकटमा पर्न सक्ने भएकाले उच्च स्तरबाटै यो गल्तीलाई ढाकछोप गर्ने प्रयास भइरहेको बताए ।

 प्रयोगशाला विशेषज्ञ एवं पोखरा विश्वविद्यालयका उपप्रध्यापक उमेशप्रसाद गुप्ताले कुनै एउटा ठाउँको नभई धेरै ठाउँबाट संकलन गरिएका सबै नमुना एकै पटक पोजिटिभ हुनै नसक्ने बताए । उनले भने, ‘एकै दिन हालिएका सबै नमुना पोजिटिभ देखिनुका तीन वटा कारण हुन सक्छन् । पहिलो कन्टामिनेसन (दूषित हुनु) हो । तर हालसम्म किट शतप्रतिशत कन्टामिनेसन हुने गरेको छैन । दोस्रो प्रोटोकलमा रहेको सिटिभ्यालु राम्ररी विश्लेषण गर्न नसक्दा समेत यस्तो हुन सक्छ । पीसीआर किटको लट नै खराब हुँदा पनि यस्तो नतिजा देख्न सकिन्छ ।

 गुप्ताले पीसीआर मेसिनमा एक हजार परीक्षणको नतिजा स्टोर रहने भएकाले यसको वास्तविकता थाहा पाउन खासै समस्या हुँदैन । यो धेरै संवेदनशील कुरा हो, सरकारले यसमा व्यापक छानबिन गर्नुपर्छ, उनले भने, ‘यस्तो गलत रिपोर्टका कारण कतिपयले आइसोलेसनमा बस्नुपरेको समेत हुन  सक्छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीर कुमार अधिकारीले त्यस दिन पोजिटिभको मात्र रिपोर्टिङ भएको दाबी गरे । कहिलेकाहीं त्यहाँबाट रिपोर्टिङ गर्ने क्रममा मिलाएर  पठाउँछन् । कहिलेकाहीं पोजिटिभ नतिजाको मात्र रिपोर्टिङ गरिदिन्छन्, उनले भने, ‘कहिलेकाहीं अति उच्च जोखिमको नमुना संकलन गर्दा पोजिटिभ हुने सम्भावना बढी हुन्छ ।

जनस्वास्थ्यविद् डा.समीरमणि दीक्षितले भने स्वास्थ्य मन्त्रालयले झूटो बोलिरहेको बताए । पीसीआर परीक्षणको नतिजामा देखिएको यस्तो अन्योल हुनु डरलाग्दो भएको उनको भनाइ छ ।

 ‘उहाँहरू सरासर झूटो बोलिराख्नुभएको छ, डा. दीक्षितले भने, ‘परीक्षणमा गडबड भएको आशंका छ । उनका अनुसार किटमा गडबडी हुँदा वा चलाउने व्यक्तिले नजान्दा शतप्रतिशत पोजिटिभ रिपोर्ट आएको हुन  सक्छ । हरेक परीक्षण किटको फरकफरक मापदण्ड हुुन्छ, डा. दीक्षितले भने, ‘हरेक किटको आफ्नो सिटिभ्यालु हुन्छ ।

डा. बीसीका अनुसार सबैभन्दा बढी ७ सय ४० नमुनामा पोजिटिभ देखिएको दिन शुक्रबार सबै भन्दा बढी उच्च संक्रमण दर १६.४ प्रतिशत देखिएको थियो । यो फल्स पोजिटिभ नतिजा आएर देखिएको हो । उनका अनुसार सरकारले यो विषयमा व्यापक खोजबिन गर्नु आवश्यक  छ । इपिडिमियोलजीका निर्देशक डा. वासुदेव पाण्डेले प्रत्येक प्रयोगशालाको प्रमाणीकरण आवश्यक रहेको बताए । उनले प्रयोगशालाहरूको नियमन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्नु पर्नेमा पनि जोड दिए ।

(साभार कान्तिपुरबाट)