धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

प्रतिपक्षी दलहरुको  नाराबाजीका बीचमै सुदुरपश्चिम प्रदेशको बजेट पारित

धनगढी

  प्रतिपक्षी दलहरुको नारावाजीका बीच सुदूरपश्चिम प्रदेश सभाबाट आर्थिक बर्ष २०७७÷०७८ को बजेट पारित भएको छ ।

   असार १० गते यता लगातार सदनमा प्रतिपक्षीको अवरोध रहेपछि असार २१ गते देखि अवरोधकै वीच सदन सञ्चालन गरी बुधबार बजेट पारित गरिएको हो । बजेटसंगै प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्न पाउने विधेयक पनि पारित भएको छ ।

  प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराको प्रस्तावलाई प्रतिपक्षीहरुको नारावाजी चलिरहेकै अवस्थामा सभामुख अर्जुन बहादुर थापाले निर्णयार्थ पेश गरेपछि बजेट पारित भएको हो ।

  प्रतिपक्षी प्रदेश सभा सदस्यहरुको चर्को नारावाजीका बीच ‘हुन्न भन्ने आवाज सुनिएन, तसर्थ बजेट र प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्न ब्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु भन्दै सभामुखले बजेट पारित भएको घोषणा गरेका हुन् ।

  बजेट पारित भएसंगै आगामी आर्थिक बर्षमा साउन १ गतेदेखि नै बजेट प्राप्त गर्ने निकायले पूजीगत बजेट समेत खर्च गर्न पाउनेछन् । विनियोजन ऐनमा नै यसपटक आर्थिक बर्ष शुरु भएको पहिलो दिनदेखि नै बजेट खर्चको अख्तियारी स्वतः पाएको मानिे गरी कानूनी ब्यवस्था गरिएको छ ।

  बजेट पारित हुनुअघि सत्तापक्षका प्रदेश सभा सदस्य महेशदत्त जोशीले बजेटको समर्थनमा बोलेका थिए । त्यसपछि आर्थिक मामिला तथा योजना मन्त्री बोहराले सत्तापक्षकै प्रदेश सभा सदस्यहरुले बजेटका बिषयमा उठाएका प्रश्नहरुको जवाफ दिएका थिए ।

  प्रदेश सभाको बैठक प्रारम्भ भएको सभामुख थापाले घोषणा गर्नासाथ प्रतिपक्षी दलका प्रदेश सभा सदस्यहरु नारावाजी गर्दै रोष्ट्रम घेर्न पुगेका थिए । उनीहरुलाई लगातार नौ मिनेटसम्म नारावाजी गर्न दिएपछि सभामुख थापाले ‘थाक्नु भयो अब बस्नुस भन्दै ब्यंग्य गर्दै बैठकको कारवाही शुरु गरेका हुन् । बजेट पारित भई सदनको बैठक अनिश्चितकालका लागि स्थगित भएको घोषणा हुँदासम्म प्रतिपक्षीहरुले लगातार नाराबाजी गरेका थिए ।

  कोरोना भाइरस रोकथामको प्रयासमा भएको खर्च विवरण सार्वजनिक गर्न माग गर्दै प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को प्रतिपक्षी दल जनता समाजबादी पार्टीले सदनमा अवरोध गरेका हुन्