धनगढी पोष्ट आइतबार, १८ कार्तिक २०८१   November 3, 2024
प्याब्सनको सुदुरपश्चिम परिषद भेला

व्यवसाय चलाउन लगानीकर्तामा  परिवर्तन आवश्यक छ :  अध्यक्ष ढुंगाना

व्यवसाय चलाउन लगानीकर्तामा  परिवर्तन आवश्यक छ :  अध्यक्ष ढुंगाना

धनगढी  निजी तथा आवासीय बिद्यलय अर्गनाइजेशन नेपाल (प्याब्सन) का अध्यक्ष  डि के ढुंगानाले   अब व्यवसाय चलाउन लगानीकर्ताले आफुमा आमुल परिवर्तन ल्याउन जरुरी रहेको बताएका  छन् ।

 राजनीतिमा जसरी घण्टी बजेको छ, आफूलाई अपडेट नगर्ने हो भने अरू क्षेत्रमा पनि यस्तै अवस्था आउने छ । प्याब्सन सुदुरपश्चिम प्रदेश समितिको आयोजनामा शुक्रबार धनगढीमा शुरु भएको सुदुरपश्चिम प्रदेश परिषद भेला तथा व्यवस्थापन तालिममा अध्यक्ष ढुंगानाले भने स्थानीय सरकारसँग समन्वय र सहकार्य गरेर प्याब्सनले आफ्ना समस्या समाधानमा पहल गर्नु पर्दछ ।

गत एक वर्षमा विदेश पढ्न जाने विद्यार्थीले २ अर्ब रुपैयाँ बाहिर लगेको र त्यसलाई रोक्ने दायित्व निजी बिद्यालयहरुको रहेको अध्यक्ष ढुंगानाले  बताए । ढुंगानाले समाजिक सुरक्षा कोषमा सहभागी हुन सबै निजी बिद्यालय संचालकहरुलाई  आग्रह गरे ।

निजी क्षेत्रका शिक्षण संस्थाले भोग्नु परेका समस्या समाधानका लागि सरकारसँग संघर्ष जारी रहेको अध्यक्ष ढुंगानाले  बताए  ।

प्याब्सनका पुर्व अध्यक्ष टीकाराम पुरीले प्याब्सनमा अहिले सबै बिषयमा एकमत रहेको बताए । बिगतमा केही समय फरक समुहहरु रहे पनि अहिले संस्थागत रुपमा अघि बढिरहको पुर्व अध्यक्ष पुरीले बताए ।

सुदुरपश्चिम बिश्वबिद्यालयका पुर्व रजिष्टार हेमराज पन्तले शिक्षा सरकारको दायित्वको कुरा भएको उल्लेख गर्दै भने यदि सरकारले  शिक्षाको दायित्व पुरा गर्न सक्दैन भने निजी क्षेत्रलाई कानुन बनाएर शिक्षाको जिम्मेवारी दिनु पर्छ ।

धनगढी इन्जिनियरिङ कलेजका क्याम्पस प्रमुख शिवहरि मुडभरिले एसइईमा ग्रेडिङ र कक्षा ११ को परिक्षा बिद्यालयले नै लिन लिन शुरु गरेदेखि गुणस्तरमा कमी आएको बताए ।  अहिले गुणस्तरमा कमी आइरहेको छ । मुडभरिले भने त्यसैले गुणस्तर सुधारमा प्याब्सनको ध्यान जान आवश्यक छ । 

प्याब्सन कैलालीका अध्यक्ष टोपेन्द्र शाहले प्याब्सनलाई अझै निजी क्षेत्रका शिक्षण संस्थाहरुले भोगिरहेका समस्याका बारेमा गम्भीर बनेर जान आवश्यक रहेको बताए ।

 प्याब्सनका पुर्व केन्द्रिय उपाध्यक्ष  कैलाश दाहालले  निजी बिद्यालयहरुका लागि अलग्गै कानुन बनाउनु पर्ने पुरानो मागलाई प्याब्सनले अझै सशक्त रुपमा अघि बढाउन आवश्यक रहेको बताए ।

मानव अधिकार संरक्षण मञ्च (मासम) सुदुरपश्चिमका अध्यक्ष डिल्लीराज जोशीले सीपयुक्त शिक्षा, आचरणयुक्त शिक्षा अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै भने अब निजी क्षेत्र माध्यमिक र औपचारिक शिक्षामा मात्र सिमित हुनु हुदैन ।  प्राविधिक शिक्षा दिएर रोजगारी प्रदान गर्ने शिक्षामा निजी क्षेत्रहरु क्रियाशील हुनुपर्छ ।

प्याब्सनका सुदुरपश्चिम समितिका अध्यक्ष ललितराज पन्तको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सुदुरपश्चिम प्रदेश सभा सदस्य प्रकाश बम, प्याब्सनका पुर्व केन्द्रिय  उपाध्यक्ष आर सी यादव र हिरा चन्दले मन्तव्य व्यक्त गरेका थिए । प्याब्सनका प्रदेश सचिव यम भण्डारीले संचालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य केशव भट्टले व्यक्त गरेका थिए ।

दुई दिनसम्म सञ्चालन हुने प्याब्सनको सुदुरपश्चिम परिषद भेला एवम व्यवस्थापन तालिममा सुदुरपश्चिमका बिभिन्न जिल्लाबाट सहभागिता रहेको छ ।