धनगढी पोष्ट
शनिबार, ०५ जेठ २०८१ मा प्रकाशित
काठमाडौँ । सशस्त्र प्रहरीको एपीएफ क्लबले ललितपुर मेयर कप महिला टी-२० प्रतियोगिताको उपाधि जितेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई दुई रनले हराएको हो।
एपीएफले दिएको १५६ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले पाँच विकेटको क्षतिमा १५३ रन बनायो।
सुदूरपश्चिमलाई अन्तिम दुई ओभरमा २७ रन आवश्यक थियो। १९औं ओभरमा कविता जोशीले तीन छक्का प्रहार गर्दै २१ रन बटुलिन्।
अन्तिम ओभरमा ६ रन आवश्यक परेको सुदूरपश्चिमले तीन रन मात्रै बनाउन सक्यो। एपीएफकी रेखा रावलले कसिलो बलिङ गरेपछि सुदूरपश्चिम दुई रनले पराजित भएको हो।
सुदूरपश्चिमका लागि कविता जोशीले ६७, लक्ष्मी साउँदले २९, विन्दु रावलले १९, सावित्री धामीले १२ र सम्झना खड्काले १० रन बनाइन्।
त्यस्तै, एपीएफका लागि करुणा भण्डारीले दुई र मौसम विष्टले एक विकेट लिइन्।
यसअघि ब्याटिङ गरेको एपीएफले चार विकेटको क्षतिमा १५५ रन बनाएको थियो। एपीएफका लागि सीता राना मगरले ७४, राजमती ऐरीले ५० र ममता चौधरीले १० रन बनाइ्न।
सुदूरपश्चिमका लागि ऋतु कनौजिया, विन्दु रावल र राधिका पुजाराले एक/एक विकेट लिएका थिए।
पाँच टोली सहभागी प्रतियोगितामा अंक तालिकाको शीर्षस्थानमा रहँदै एपीएफ र सुदूरपश्चिम फाइनलमा पुगेका थिए।