धनगढी पोष्ट बुधबार, १६ माघ २०८१   January 29, 2025

फाप्लाको डिपीआर बन्दै

हामी ड्रिम फाप्लाको धेरै नजिक छौँ : अध्यक्ष शाही

फाप्लाको डिपीआर बन्दै

धनगढी । कैलालीको धनगढीमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माण कार्य शुरु भएको छ ।

नेपाल सरकारले पुर्वाधार विकास निर्माण समिति गठन गरेर त्यसमार्फत काम अगाडि बढाउने निर्णय गरेपछि डिपीआर निर्माण कार्य सुरु भएको हो । 

डिपीआर निर्माणका लागि टेन्डर स्वीकृत भएर काम अगाडि बढाउने तयारी भइरहेको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्राम पुर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवास शाहीले जानकारी दिए । 

यसैगरी, वातावरणीय प्रभाव मूल्याङ्कनका लागि पनि ठेक्का भइसकेको उनले बताए । अध्यक्ष शाहीका अनुसार चालु आर्थिक वर्ष २०८०÷०८१ भित्रै डिपीआर निर्माणको काम सम्पन्न गरेर आगामी आर्थिक वर्षबाट रङ्गशाला निर्माणको काम अगाडि बढाउने लक्ष्य छ । चार महिना भित्रै डिपीआर निर्माण हुने लक्ष्य समेत लिइएको उनले बताए । 

‘नेपाल सरकारबाट जग्गा प्राप्ति, पुर्वाधार निर्माण विकास समिति गठनपछि डिपीआर निर्माणको प्रक्रिया अगाडि बढेको छ,’ उनले भने, ‘आउने आर्थिक वर्षबाट संरचना निर्माणको काम अगाडि बढाउँछौँ ।’

लामो समयसम्म जग्गा प्राप्ति नभएकाले निर्माण कार्यमा ढिलाई भएको उनले बताए । उनले भदौ भित्र दुवैको फाइनल रिपोर्ट आउने बताए । 

चालु आर्थिक वर्ष २०८०÷०८१ मा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्रामको डिपीआरमात्रै निर्माणका लागि सरकारले एक करोड बजेट समितिलाई दिएको थियो ।

समितिले बैशाख १० गते ग्रिड मार्स श्रेष्ठ जेभि सँग चार महिनाका लागि डिपीआरको ठेक्का सम्झौता गरेको थियो । 

उक्त कम्पनीलाई समितिले असार २५ गते भित्र डिपीआर बनाउने समय सिमा दिइएको छ । सोही कम्पनि सँग समितिले वातावरणीय प्रभाव मूल्याङ्कनका लागि पनि ठेक्का लगाइएको छ ।

डिपिआर र वातावरणीय प्रभाव मूल्याङ्कनका निर्माण कार्यका लागि ५९ लाख ८३ हजारमा समितिले ग्रिड मार्स श्रेष्ठ जेभिलाई ठेक्का दिएको हो । 

बजेट अनुसारको काम भइरहेको र फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्राम निर्माणका लागि स्रोत सुनिश्चितताको काम भइसकेको अध्यक्ष शाहीले बताए । 

‘तीन तहकै सरकारको सहभागितामा विकास समितिको गठनादेश अनुसार निर्माणको काम अगाडि बढ्ने छ,’ उनले भने, ‘फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्राम सञ्चालन कुन मोडेलमा गर्ने भन्ने कुराको निर्णय पनि समितिले नै गर्नेछ ।’

ग्रिड मार्सश्रेष्ठ जेभिका टिम प्रमुख दिलीप गसीले अहिलेसम्म ४५ प्रतिशत डिपिआर र वातावरणीय प्रभावको काम सम्पन्न गरेको बताए ।

डिपिआरको समय सिमा भित्रै रिपोर्ट बुझाउने तयारीमा रहेको उनले बताए । आफुहरुलाई दिएको समय भित्रै सबै काम सक्ने गरी तयारीमा लागेको उनको भनाइ छ । 

यसअघि, ड्रिम फाप्ला अभियानको क्रममा यसको विस्तृत योजना (मास्टर प्लान) बनाइएको थियो । तर, नेपाल सरकारले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामात्रै नभई खेलग्राम नै बनाउने निर्णय गरेपछि पहिले बनेको मास्टर प्लानभन्दा केही भिन्न रूपमा संरचना निर्माणको काम हुने जनाइएको छ ।

फाप्ला क्षेत्रको साढे ३८ विघा क्षेत्रफलमा खेलग्रामभित्र क्रिकेट रङ्गशालासहित अन्य संरचना बन्ने जनाइएको छ । निर्माणको काम भने फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई प्राथमिकतामा राखेर सुरु गर्ने जनाइएको छ ।

सरकारले २०७८ बैशाख २६ गते ‘फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति आदेश २०७९’ राजपत्रमा प्रकाशित गरेको थियो । विकास समिति आदेशमा रंगशाला तथा खेलमैदान निर्माणमा मुख्य कार्यकारी भूमिका रहने समिति नौ सदस्यीय हुने व्यवस्था गरिएको थियो । 

धनगढीमा क्रिकेट खेल लोकप्रिय बनेपछि अस्थायी मैदानको रूपमा विक्रम संवत् २०७१ सालमा फाप्ला क्रिकेट मैदानको पहिचान गरिएको थियो । त्यसपछि यही मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउनका लागि २०७२ सालबाट ड्रिम फाप्ला अभियान सञ्चालन गरिएको थियो ।

यो अभियानलाई नेपाल सरकारले महत्व दिएर पहिलो पटक पूर्वाधार विकास निर्माण समिति गठन गरेर त्यसमार्फत काम अगाडि बढाउने निर्णय गरेपछि अभियानले सार्थकता पाएको अध्यक्ष शाहीको भनाइ छ । ‘हामी ड्रिम फाप्लाको धेरै नजिक छौँ,’ अध्यक्ष शाहीले भने । 

शाहीको अध्यक्षतामा बनेको नौ सदस्यीय समितिको सदस्यमा धनगढी उपमहानगरपालिका र कृष्णपुर नगरपालिकाका नगर प्रमुख पदेन सदस्य रहनेछन्।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव, कैलालीका प्रमुख जिल्ला अधिकारी, शहरी विकास तथा भवन निर्माण विभाग, संघिय आयोजना कार्यान्वयन ईकाई कैलालीका प्रमुख, उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष तथा नेपाल सरकारले मनोनयन गरेकी महिला सदस्यमा स्थानीय कल्पना दिवाकोटी समितिको सदस्य छन् ।