भारतले धौलीगंगाको बाध फेरि खोल्ने, तटीय क्षेत्रका वासिन्दालाई सचेत रहन दार्चुला प्रशासनको आग्रह

भारतले धौलीगंगाको बाध फेरि खोल्ने, तटीय क्षेत्रका वासिन्दालाई सचेत रहन दार्चुला प्रशासनको आग्रह

धनगढी

 भारतको उत्तराखण्ड स्थित धौलीगंगा जलबिद्युत आयोजनाको बाँध फेरि खोलिने भएको छ । बाध खोलिएपछि जोखिम बढ्न सक्ने भन्दै महाकाली तटीय क्षेत्रका वासिन्दालाई सतर्क रहन नेपाली प्रशासनले सचेत गराएको छ ।

  गत असार १५ गते समेत  भारतले उक्त आयोजनाको बाध खोलेको थियो ।

  आयोजनाको बाँध साउन १५ गते मध्य रातिदेखि १६ गते बेलुकी ६.४५ बजेसम्म बाध खोलिने एनएचपीसी लिमिटेड धौलीगंगा पावर स्टेशन धारचुला पिथौलागढले नेपाली  प्रशासनलाई जानकारी गराएपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले तटीय क्षेत्रका वासिन्दालाई सचेत गराएको हो ।   आयोजनाले सिल्ट फ्लसिङ र सरसफाइका भन्दै बाँध खोलिने जानकारी नेपाली प्रशासनलाई गराएको हो ।

  ‘महाकाली नदीमा जलस्तर बढ्न सक्ने भएकोले महाकाली नदी किनार तटीय क्षेत्रका वासिन्दालाई पुर्व सतर्कता अपनाउन हुन जानकारीका लागि यो सुचना जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले जारी गरेको  सुचनामा भनिएको छ । प्रशासनले  दार्चुलाको ब्याँस गाउँपालिका वडा नम्बर ५  धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्मका नदी किनार तटीय क्षेत्रका  वासिन्दालाई पुर्व सतर्कता अपनाउन आग्रह गरेको हो ।  

  निरन्तर जसो वर्षा भइरहेको र महाकाली सहितका नदीमा पानीको बहाव बढ्दै गएका बेला भारतीय पक्षले जलविद्युत आयोजनाको बाँध खोल्ने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले बहाव बढ्न सक्ने आकलन गरेको हो ।

  भारतीय पक्षले हरेक जसो बर्षा याममा धौलीगंगाको बाँध खोल्ने गरेको छ । ०७० मा नेपाली प्रशासनलाई जानकारी नै नदिइ बाध खोल्दा दार्चुलाको खलंगामा भीषण बाढी आएको थियो । जसकारण ठूलो क्षति भएको थियो ।